PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

त्यो कोठामा महराको डेढ घण्टा…



सविन ढकाल

त्यो कोठामा महराको डेढ घण्टा…

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरा २५ दिनदेखि हिरासतमा छन्। एक महिलामाथि उनकै कोठामा पुगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ उनीमाथि।

शुक्रवारदेखि जिल्ला अदालतमा बहस समेत शुरु भइसकेको छ यो विषयलाई लिएर। सभामुख महराले भने सरकारी वकिलदेखि अदालतसम्म दिएको बयानमा आफू पीडित महिलाको कोठामा नै नपुगेको दावी गर्दै आएका छन्। तर, प्रहरीको अनुसन्धान र अन्य व्यक्तिको बयानले भने महरा पीडित महिलाको कोठमा गएको र करिब साढे १ घण्टा बिताएको खुलेको छ।

महराले प्रयोग गर्ने मोबाइलको लोकेसन घटना भएको दिन पीडित महिलाको कोठामा भएको देखिएको छ। महराले असोज १२ गते सादा पोशाकमा रहेका नेपाल प्रहरीका हवल्दार बिष्णुबहादुर थापा, नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक सहायक प्रहरी हवल्दार श्यामहरि आचार्यलाई लिएर पीडित महिलाको कोठामा पुगेको खुलेको छ। प्रहरीको अनुसन्धान बयानमा हवल्दार बिष्णुबहादुर थापाले भनेका छन्, 'सभामुख ज्युले एक छिन बाहिर जानुपर्ने भयो नेपाल प्रहरीको एक जना र नेपाली सेनाको एक जना सुरक्षाकर्मी मसँग हिँड्नुहोस् भन्नु भएकाले नेपाल प्रहरीबाट म नेपाली सेनाका जमदार काजीमान राना मगर र चालक स.प्र.ह. श्यामहरि आचार्य भई सादा पोशाकमा हतियार सहितसहित निवासबाट बाहिर निस्केको हो।'

सभामुख महराले सोही दिन उनको व्यक्तिगत सुरक्षामा खटिएका (पिएसओ) प्रहरी नायव निरीक्षक किशोर आचार्य र प्रहरी नायव निरीक्षक डवलबहादुर बमलाई भने साँझ कतै निस्किने औपचारिक कार्यक्रम नभएकाले ‘म आराम गर्छु, तपाईँहरु जान सक्नुहुन्छ’ भनेका थिए। त्यसपछि उनीहरु आफ्नो घर गएको खुलेको छ। असोज १२ गते सभामुख करिव ४ बजे संसद भवनबाट सभामुख निवास फर्किएका थिए। प्रहरीको बयानमा उनीहरुले भनेका छन्, ‘अब कार्यक्रम छैन, म रेस्ट गर्छु, तपाईँ जान सक्नुहुन्छ भन्नु भएकोले हामीहरू आ-आफ्नो घरमा गएका हौं।'

उनीहरु गएको केही समयमा नै महराले बाहिर जानुपर्‍यो भन्दै सादा पोशाकमा तयारी हुन प्रहरीलाई जानकारी दिएका थिए। महरा बाहिर निस्किन लागेको कुरा निवासको ड्युटीमा खटिएका प्रहरी हवल्दार विष्णुबहादुर थापाले सवा ८ बजे पिएसओ किशोर आचार्यलाई भने जानकारी दिएका थिए।

महराका छोरा निर्मल महराले प्रयोग गर्दै आएको बा २ झ २८६३ नम्बरको सेतो र कालो रंगको स्कारपियो लिएर उनी निस्किएका थिए। गाडीमा जमदार काजिमान राना र चालक श्यामहरि आचार्य अगाडि सभामुख कृष्णबहादुर महरा बीचमा र सभामुख बसेको सिटमा चालक भन्दा पछाडि प्रहरी हवल्दार बिष्णुबहादुर थापा बसेका थिए। चालकले निवासबाट निस्किएपछि कहाँ जाने भनेर सोधेका थिए। सभामुखले भने कोटेश्वरतिर भनेका थिए । गाडी कोटेश्वरतिर नै हुँइकियो।

बालुवाटारबाट तीनकुने चोकमा पुगेपछि त्यहाँबाट दाहिने तर्फको भित्री बाटो हुँदै भित्रतिर पुगेर गाडी अडियो। नजिकै पीडित महिलाको कोठा थियो। त्यसपछि सभामुख र जमदार गाडीबाट ओर्लिएका थिए। चालक र प्रहरी हवल्दार बिष्णुबहादुर थापा भने गाडीमा नै बसे । एकछिनपछि जमदार काजीमान राणा पनि गाडीमा नै फर्किएको बिष्णबहादुरले बताएका छन्। 'कहाँ जाने भनेर सभामुखलाई सोध्दा कोटेश्वरतिर जाने भन्नु भएकाले हामीहरु सभामुख निवास, त्यसपछि गाडी केही पर लगी फर्काएर ल्याएपछि जमदार काजीमान राना मगर पनि गाडीमा आएको, सभामुखले आधा घण्टा पछि आउँछु भनी निस्किनु भयो।'

तर, आधा घण्टामा आउँछु भनेका सभामुख साढे १ घण्टापछि मात्र फर्किए। हतियार सहित सादा पोशाकमा पुगेका प्रहरी सोही गाडीमा उसै गरी सभामुख निवास फर्किए। निवास फर्किएपछि आफ्ना हाकिमलाई सकुसल निवास फर्किएको जानकारी हवल्दार थापाले गराएका थिए।

तर, सम्पुर्ण सबुत प्रमाणले सभामुख महरा पीडित महिलाको कोठामा गएको पुष्टि गरे पनि उनले भने आफू पीडित महिलाको कोठामा नभएको उनी दावी गर्दै आएका छन्। सभामुखले महिलाको कोठा नजिकैसम्म पुगेको भने स्वीकार गरेका छन्।

‘बेलुका ७:०० बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हँदै उनको कोठा नजिक पुगी गाडीबाट बाहिर निस्केर पटकपटक फोन गर्दा सम्पर्क हुन नसके पछि निजको श्रीमान् समेत कोठामा नभई बाहिर भएकोले निजको कोठा जान उचित नठानी ८ बजेर ४५ मिनेट पछि गाडीमा सुरक्षाकमी सहित फर्की निवासमा आएको हौं,’ महराले बयानमा भनेका छन्।

महरा र सुरक्षाकर्मीको बयानमा मेल देखिएको छैन। महिलाको फोन नै नउठेको बेला महराले महिलाको श्रीमान् बाहिर रहेको जानकारी कहाँ बाट पाए? अनि सुरक्षाकर्मीले भने अनुसार १ घण्टा २५ मिनेट महरा कहाँ हराएका थिए?

त्यसो त महराले प्रयोग गर्ने चस्मा र जुताको तलुवा समेत महिलाको कोठाबाट बरामद भएको छ। महराले घरमा फ्याँलिएको पुरानो सामान कसैले ल्याएर राखिदिएको दावी गरेका छन् ती विषयमा।

बा.२०च, ४७११ को गाडीमा चढेर उनी पुगेका थिए जुन पछि उनका लागि भारी नै बन्न पुग्यो ।

महराले त्यस समय जवर्जस्ती गरेको पीडित महिलाले सां‌सद उमा रेग्मीलाई जानकारी गराएकी थिइन्। सां‌सद रेग्मीले पीडित मिहिलाले राति ११ बजेर २० मिनेटमा कल गरेर रुँदै जानकारी दिएको बताएकी थिइन्।

सांसद रेग्मीले भनिन्, ‘उनले फोन गरी रुँदै न्याय पाउँ माननीयज्यू, भनेकीले मैले के भयो भनी सोधेँ । उनले आफ्नो परिचय दिदैँ ‘म सभामुख कृष्णबहादुर महराबाट जबरजस्ती करणीमा परेँ’ भनिन्। सभामुख मेरो कोठामा रक्सीको बोत्तल लिएर आई मलाई जबरजस्ती करणी गर्न खोजेकोले मैले प्रतिकार गर्दा उहाँले मलाई निर्घात कुटपिट गरे, दुबै गालामा पिटेर अनुहार र ज्यूभरी नील डाम छ, अनुहार चिन्न नसक्ने भएको छ। प्रतिकार गर्दा निजको चम्मा भाँचिएर सिसा फुटेको छ। प्रहरी बोलाउँदा हतारिएर भाग्दा जुत्ताको तलुवावा मेरो कोठामा छुटेको छ।'

अदालतमा आइतवार महराको थुनछेक बहस हुनेछ। महरा अदालतबाट दोषी ठहरिएमा साढे सात वर्षसम्म जेल सजायँ हुनेछ। त्यस्तै अदालतले पूर्पक्षको लागि जेल चलान गरे उनको सा‌सद पद स्वतः निलम्बनमा पर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell