PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किड्नीको डायलासिसबारे ६ प्रश्न : के हो यो र कतिबेला आवश्यक पर्छ?



पहिलोपोस्ट

किड्नीको डायलासिसबारे ६ प्रश्न : के हो यो र कतिबेला आवश्यक पर्छ?
Getty Images

हाम्रो शरीरमा भएको मृगौलाको काम रगत शुद्धिकरण गर्ने हो। यसले रगतमा भएका विकार अथवा काम नलाग्ने वस्तुहरुलाई छानेर रगत शुद्ध बनाउने काम गर्छ। ती छानिएका विकार वस्तुहरु मृगौलाले मुत्र थैलीतर्फ पठाउँछ जुन पिसाबको माध्यमबाट शरीरबाट निस्कासित हुन्छ। मृगौलाले यही काम गर्न नसक्ने अवस्थामा डायलासिस गर्ने गरिन्छ। मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थालाई मृगौला फेल भएको पनि भन्ने गरिन्छ।

के हो डायलासिस?

हाम्रो शरीरको मृगौलाले आफ्नो नियमित काम गर्न नसक्ने अवस्थामा अथवा मृगौला फेल भएको अवस्थामा कृत्रिम रुपमा मृगौलाको काममा सघाउने विधि नै डायलासिस हो। स्वस्थ मृगौलाले गर्ने काम डायलासिस गर्दा मेसिनमार्फत कृत्रिम रुपमा हुने गर्छ।

डायलासिस सामान्यतया दुई प्रकारका हुन्छन्ः हेमोडायलासिस र पेरिटोनियल डायलासिस। हेमोडायलासिस भनेको कृत्रिम मृगौला (हेमोडायलाइजर)को सहायताले रगत शुद्धिकरण गर्ने विधि हो। पेरिटोनियल डायलासिस भनेको पेटमा सर्जरीमार्फत् प्लास्टिकको ट्युब (क्याथेटर) राखी त्यसमा पानी (डायलासेट) पठाएर रगत शुद्धिकरण गर्ने विधि हो।

कति बेला डायलासिस आवश्यक पर्छ?

जब मृगौलाले आफ्नो कार्यक्षमताको ८५ देखि ९० प्रतिशत क्षमता गुमाउँछ तब डायलासिसको आवश्यकता पर्छ। यो एक प्रकारले मृगौला फेलको अन्तिम अवस्था पनि हो।

डायलासिसले शरीरमा के गर्छ?

मृगौला फेल भएको अवस्थामा डायलासिसले शरीरमा विकारको मात्रालाई सन्तुलनमा राख्छ। मृगौलाले काम नगर्दा रगत शुद्धिकरण नहुने हुँदा शरीरमा विकारको मात्रा बढ्ने हुन्छ। तर, डायलासिस गरेपछि शरीरमा भएका फोहोर, अनावश्यक नुन र पानी जस्ता विकार वस्तुहरु जम्मा हुन पाउँदैनन्। यसले रगतमा पोटासियम, सोडियम तथा बाइकार्बोनेट जस्ता रसायनको सुरक्षित मात्रालाई मात्र रहन दिन्छ। त्यस्तै रक्तचापलाई पनि सन्तुलनमा ल्याउँछ।

डायलासिस कति लामो समय गर्नुपर्छ?

मृगौलामा कुन प्रकारको समस्या देखिएको छ भन्ने कुरामा यो भर पर्छ। ‘एक्युट’ मृगौला फेल भएका केही विरामीहरु उपचारपछि ठीक हुन्छन्। यस्तोमा मृगौलाको उपचारमा सहयोगको लागि मात्रै छोटो समयको लागि डायलासिस गर्ने गरिन्छ। मृगौला सामान्य अवस्थामा आइसकेपछि डायलासिस गर्न पर्दैन। तर ‘क्रोनिक’ (अन्तिम अवस्थाको) मृगौला फेल भएको अवस्थामा मृगौला उपचारपछि फेरि सामान्य अवस्थामा आउन सक्दैन। यस्तो अवस्थामा जीवनभर नियमित डायलासिस गर्नुपर्ने हुन्छ।

बुझ्नुपर्ने कुरा के हो भने डायलासिस उपचार होइन। डायलासिस गरेपछि मृगौला सामान्य अवस्थामा आउने भन्ने हुँदैन अर्थात् यसले मृगौलाको रोगलाई निको पार्दैन। यसले मृगौलाले गर्ने केही काम मात्रै गर्ने हो। यस्तो अवस्थामा मृगौला प्रत्यारोपणको विकल्प हुँदैन। अन्यथा जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ।

डायलासिस गरेको व्यक्ति कति समय बाँच्छ?

मृगौला फेल भएको अवस्थामा नयाँ मृगौला प्रत्यारोपण गर्ने अवस्था नहुँदा जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ। डायलासिस गरेको व्यक्ति कति समय बाँच्छ भन्ने कुरा उसको अन्य स्वस्थ्य अवस्था र मृगौलाको उपचार विधिमा देखाउने सतर्कतामा भर पर्छ। डायलासिस गरेको व्यक्ति औशत रुपमा ५ देखि १० वर्ष बाँच्छन्। तर, केही व्यक्तिहरु २० देखि ३० वर्षसम्म पनि बाँचेको उदाहरण छ।

डायलासिस गरेका व्यक्तिले काम गर्न हुन्छ?

हुन्छ तर हलुका काम मात्रै। सामान्यतया डायलासिसको बानी परिसकेपछि मानिसहरु सामान्य रुपमा आफ्नो काममा फर्किन्छन्। डायलासिस गरेको व्यक्तिले गह्रौ सामान उचाल्ने जस्ता भारी काम भने गर्नु हुँदैन।

(नेपालका केही मृगौला विशेषज्ञहरुसँग गरिएको अनौपचारिक कुराकानीका आधारमा तयार गरिएको जानकारीमुलक सामग्री)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell