PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेनाको कार्गो विमान काठमाडौं ओर्लियो, विपद् र सैन्य तालिममा प्रयोग गरिनेे



रासस

सेनाको कार्गो विमान काठमाडौं ओर्लियो, विपद् र सैन्य तालिममा प्रयोग गरिनेे
फोटो: रासस

नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो।  

विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालिमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालिममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ।

कासा विमान कम्पनीले निर्माण गरेको सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो। उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन्। कल साइन सिएन २३५-२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो। यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ। 

सेनाले अहिले विशिष्ट व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधनको व्यवस्था गरेको छ। सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन्।

त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ। मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्। नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell