वीरगंज : छठ वर्पको लागि सरसामान किनमेल गर्नेहरुको वीरगंजमा घुइचो लागेको छ। आर्थिक नगरी वीरगंजमा बिहीवारदेखि छठको समान किन्नेहरुको घण्टाघर, विपी पार्क, माइस्थान, टागा बजारलगायत क्षेत्रमा बढि चलहपहल देखिएको छ।
छठ ब्रतालु तथा तिनका परिवारजनले छठमा लाग्ने आवश्यक सामग्री किनमेल गरिरहेका छन्। छठको किनमेल सझिया घाटे आर्थात आज शनिवार पनि जारी छ। छठमा प्रयोग गरिने बाँसको दउरा, सुपली, नाङ्लो, छैटा, दउरीलगायत फलफूल र उखुको भाउ आकाशिएको उपभोक्ताले बताएका छन्।
वीरगंज–१५ की अशियादेवीले गत वर्षको तुलनामा यसवर्षको छठ पर्व निकै महंगो भएको बताइन्।
उनले भनिन्, बजारमा सबै समान महंगो भएको छ, एक जनाले छठ पर्वका लागि कम्तीमा ५ हजार भन्दा बढि खर्च गर्नुपर्छ।
वीरगंज–१० रानीघाटका उमेश साह कानुले पोहोर भन्दा यसवर्ष सबै समानमा मनपरी हिसाबले दाम बढाइएको गुनासो गरे। पोहोर ८० रुपैयाँमा पाउने स्याउ यसपाली १ सय २० रुपैयाँ प्रतिकिलोमा र गत वर्ष ६० रुपैयाँ प्रति दर्जन केराको भाउ अहिले सय रुपैयाँसम्मा पुगेको उनले बताए।
त्यसैगरी सुथनी, पानको पात, सुपारी, अर्घको समानलगायतमा पनि भाउ बढाइएको किनमेल गर्ने ब्रतालुहरुले बताएका छन्। बाँसबाट बनाइने दउराको मुल्य पनि आकाशिएको छ। पोहोर ३ सय देखि ५ सयमा बाँसको दउरा बेचिएकोमा यसपाली १ हजारमा बिक्री भइरहेको दउरा व्यवसायी सत्यनारायण यादवले बताए। उनले गत वर्ष भन्दा यसपाली बाँसको मुल्य र आपुर्ति घटेको कारण बाँसको समान दोब्बरले बढेको बताए।