
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले ने क पाका उम्मेदवारहरुको पक्षमा प्रचारप्रसारका लागि किरण पौडेलको नेतृत्वमा प्रचार/प्रसार समिति गठन गरेको छ।
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेल ‘दीपशिखा’ले आज एक विज्ञप्ति जारी गर्दै बुधवारको बैठकबाट मंसिर १४ गतेको उपनिर्वाचनमा प्रचारप्रसारका लागि किरण पौडेलको नेतृत्वमा समिति गठन गरिएको बताएका हुन्। समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नविन खड्का र प्रकाश लामिछाने सदस्य रहेको जनाइएका छन्।
आगामी मंसिर १४ गते हुने संघीय, प्रदेश र स्थानीय गरी तीनै तहमा हुने उपचुनावमा कार्यकर्ता परिचालनका लागि युवा संघको बैठक बुधबार बसेको थियो। संघको बैठकले उपनिर्वाचनमा आफ्ना केन्द्रीय नेताहरुलाई ने क पाका उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न पनि निर्देशन दिएको छ। उपनिर्वाचन हुने जिल्लामा संघका नेता तथा कार्यकर्ता परिचालन गर्न त्यहाँको युवा संघको समन्वयमा निर्वाचन परिचालन समितिसमेत बनाउने भएको छ।
यसैगरी, तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका युवा संगठनहरुको एकता सम्बन्धमा पनि महत्वपूर्ण निर्णय बैठकले गरेको छ। एकतापछिको राष्ट्रिय युवा संघको गठनमा अब संगठनका सबै तहमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र निकट दुवै पक्षलाई बराबर भागबन्डा गरिने निर्णय पनि बैठकले गरेको छ।
जसअनुसार कुनै पनि तहको संयोजक तत्कालीन एमाले निकट भए इन्चार्ज तत्कालीन माओवादी केन्द्र निकट तथा सहसंयोजक तत्कालीन एमाले निकट र सहइन्चार्ज तत्कालीन एमाले निकट हुनेछन्। तर दुवै पक्षको सहमतिका आधारमा कुनै तहमा यसभन्दा फरक निर्णय गर्न सकिने पनि बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी संघको बैठकले प्रदेश, जिल्ला, महानगर र उपमहानगरमा संगठनको इन्चार्ज र सहइन्चार्ज भने केन्द्रीय समितिका सदस्यहरुमध्येबाट नियुक्त गरिने निर्णय गरेको छ।
राष्ट्रिय युवा संघको जिल्ला तहमा एउटा पक्षको नेतृत्व भए महानगर तथा उपमहानगरमा अर्को पक्षले नेतृत्व गर्ने नीतिगत निर्णय पनि बुधबारको बैठकले गरेको छ। दुई महानगर भएका जिल्लाहरुमा दुवै पक्षले एक–एक महानगरमा संगठनको नेतृत्व गर्ने छन्।
यसैगरी बैठकले राष्ट्रिय युवा संघको जिल्ला तहमा संयोजक र सहसंयोजक एक साताभित्रै चयन गर्ने भएको छ। संयोजक र सहसंयोजक चयन गर्दा सक्रियता र वरिष्ठताका आधारमा गरिने पनि विज्ञप्तिमा उल्लेख छ।