
काठमाडौं : बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीमाथि छानबिन हुन भएको छ। एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।
प्रहरी आचरण उल्लंघन गरिएको आरोपमा उनलाई छानबिनमा तानिन लागिएको हो। आज गठन भएको समितिलाई १० दिनको म्याद तोकिएको छ।
नेपाल तरुण दलले उनीमाथि खसी मागेको र खसी नमाग्दा आफ्ना कार्यकर्तालाई फसाएर पक्राउ गरेको आरोप लगाएको छ। बाँके तरुण दलका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खसी नदिएपछि डिएसपी शाही आफ्ना कार्याकर्तामाथि खनिएको भन्दै कांग्रेसले समेत छानबिनको माग गरेको थियो।