
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन अफगानिस्तानले प्रस्ताव गरेको छ।
भारतको गुवाहटी र सिलोङमा भएको १२ दक्षिण एसियाली खेलकुदसँगै मध्यपूर्वी क्षेत्रमा सम्मिलित हुन गएको अफगानिस्तानले फेरि दक्षिण एसियाली खेलकुदमा सहभागी हुन इच्छा देखाएको हो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसबारे प्रस्तावहरु आएको र छलफलपछि अफगानिस्तानलाई सहभागी गराउने या नगराउने भन्नेबारे निर्णय हुने जानकारी दिए।
'सहभागिता गराउने भन्ने कुरा टुंगिसकेको छैन। कुरा आएको छ। यही विषयमा बैठकमा कुरा चलेको छ,' अध्यक्ष श्रेष्ठले पहिलोपोस्टसँग कुरा गर्दै भने, '२३/२४ गते भित्र अफगानिस्तानलाई सहभागी गराउने या नगराउने भन्ने निर्णय भइसक्छ।'
अफगानिस्तानले नवौं दक्षिण एसियाली खेलकुदबाट सहभागिता जनाउन सुरु गरेको हो। ४ पटक सहभागिता जनाएको अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य पदक गरी कुल १०० पदक हात पारेको छ।
दक्षिण एसियाली खेलकुदमा अफगानिस्तान सहभागी भएको खण्डमा थप प्रतिस्पर्धा बढ्ने निश्चित छ।
दक्षिण एसियाली खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदै छ। सागमा सहभागिताका लागि अफगानिस्तानले अन्तिम समयमा इच्छा देखाएको हो।