PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लमजुङतिरको भाकामा नेपथ्यको नयाँ गीत सार्वजनिक



पहिलोपोस्ट

लमजुङतिरको भाकामा नेपथ्यको नयाँ गीत सार्वजनिक

काठमाडौं  : सांगीतिक समूह नेपथ्यले लमजुङतिरको रैथाने भाकाको विरह वेदनामा आधारित नयाँ गीत भिडियोसहित सार्वजनिक गरेको छ।

शिरमा रिबन सालको पछ्यौरी

हिराजस्तो झललल

सम्झिरहने त्यो मुहार

अब मैले बिर्सूं कसरी

‘मैले सानैमा आमाबाट यो भाका सुनेको थिएँ,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘आमाले लमजुङतिरको भाका भनेर गुनगुनाउनु भएको यो गीत पछि पनि मैले पोखराको कुनै कुनै ठाउँमा सुनेको सम्झना छ।’

धेरै वर्षपछि आफू लमजुङ पसगाउँ जाँदा त्यही भाकामा एउटी चेलीले गाएको यही गीत सुन्दा त्यसले आफ्नो मर्ममै छोएको गुरुङ सुनाउँछन्। त्यो रात आमा समूहको सांगीतिक टोली लालटिन बोकेरै नाचगान देखाउन आइपुगेको उनले बताए।

'लोकगीत एक ठाउँबाट सर्दै टाढाटाढाम्म यात्रा गर्ने र त्यस्तो यात्रामा गीत परिष्कृत हुँदै र फेरिँदै जाने भनाइ नै छ। यस्तो यात्रामा पार गरेका नदीनालाहरु, ठाउँहरुको शब्दहरु, बाजाहरु र भाकाहरु थपिन्छन्। हो, त्यसरी नै मैले त्यस रात पसगाउँमा सुनेको त्यही गीतको भाकामा केही फेरबदल थियो,’ गुरुङले थपे, ‘त्यसबाहेक गीतका शब्दहरु एक किशोरीको स्वरबाट भित्रैदेखि मन छुने गरी प्रस्फूटित भइरहेको थियो।’

पानी है पर्‍यो

कहाँ पर्‍यो त्यो बूँद

डाँडा काँडा सररर

रसायो म रुँदा

शिरमा रिबन सालको पछ्यौरी

ती किशोरीले भित्री हृदयबाटै गाएको सुनेपछि उनीबारे गुरुङले जिज्ञासा राखे। भर्खर मात्र बिहे गरेकी ती किशोरी पतिले घरबाट निकालिएपछि माइतीमा आएर बसिरहेको जानकारी उनले पाए।

‘ती चेलीले कसरी त्यति मिठो गाइन् भन्ने रहस्य मेरो अगाडि प्रष्ट भयो,’ गुरुङ बताउँछन्, ‘त्यसपछि मैले उनको भावनामै डुबेर गीतका शब्दलाई परिमार्जन गर्दै मुखडा बाहेकका अन्तराहरु तयार पारेको हुँ।’

समीको छेउ छेउ

पिपलु र वर पनि

बालखैमा धररर

बिग्रियो घर पनि

शिरमा रिबन सालको पछ्यौरी

गीतको पृष्ठभूमि यसरी तयार भएको गुरुङले बताए।

नेपाली लोकगीतहरुमा आगन्तुक शब्दहरुको प्रयोग पहिलेदेखि नै हुँदै आएको छ। गण्डकी क्षेत्रमा त्यसको श्रेय सबैभन्दा धेरै लाहुरेहरुलाई जान्छ। ‘यो गीतमा पनि त्यस्तो प्रभाव छ,’ गुरुङ थप्छन्, ‘अंग्रेजीमा पछ्यौरीलाई शल भनिन्छ, जसलाई अग्रजहरुले टिपेकै हिसाबले यसमा सालको पछ्यौरी प्रयोग भएको छ।’ गीतको यही ‘मुखडा’ र यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर अत्यधिक प्रचलनमा रहेको उनले जानकारी दिए।

६ मिनेट लामो ‘शिरमा रिबन’ को यो भिडियो अब ट्युबमा हेर्न सकिनेछ। हिजोआज सांगीतिक एल्बमको प्रचलन नै हराउँदै गएको बेलामा नेपालयले नेपथ्यका सबैजसो सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाईजस्ता ‘भर्चुअल स्टोर’हरुका माध्यमबाट सार्वजनिक गर्दै आएको छ। उसका जे जति गीतहरु आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell