PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालको पुरातत्त्वसँग घुलमिल हुँदै युनेस्को प्रतिनिधि, म्यानहार्ट भन्छन् 'नेपालको संस्कृति र यहाँका मानिस अद्वितीय छन्' 



सहयोग रञ्जित

नेपालको पुरातत्त्वसँग घुलमिल हुँदै युनेस्को प्रतिनिधि, म्यानहार्ट भन्छन् 'नेपालको संस्कृति र यहाँका मानिस अद्वितीय छन्' 

नेपाल आउनुभन्दा अघि क्रिस्टियन म्यानहार्ट पेरिसस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को) को हेडक्वार्टर (केन्द्रीय कार्यालय) मा कार्यरत थिए। हेडक्वार्टरमै रहेर उनले विभिन्न देशको सांस्कृतिक प्रोजेक्टहरूमा काम गरे। अफगानिस्तान, चीन, भारत, भुटानको संस्कृतिसँग घुलमिल हुने अवसर पाए। धेरै दक्षिण एसियाली देशसँग उनले काम गरे।

५ वर्ष अगाडी युनेस्कोको हेडक्वार्टरबाट म्यान्हार्ट पहिलोपटक अर्को राष्ट्रमा खटिए। उनी नेपालका लागि युनेस्कोको प्रतिनिधिका रूपमा नियुक्त भए। नेपालका लागि प्रतिनिधि नियुक्त हुनुअघि उनी कहिल्यै नेपाल आएका थिएनन्। नेपाल उनको लागि नौलो थियो। भारत, चीन र भुटानमा काम गरिसकेकाले उनले नेपालको संस्कृति पनि ती राष्ट्रहरु जस्तै मिल्दोजुल्दो होला भन्ने ठानेका थिए।

तर जब पहिलोपटक नेपाल ओर्लिए र बिस्तारै यहाँका संस्कृतिबारे बुझ्दै गए उनले नेपालको आफ्नै विशिष्ट सांस्कृतिक पहिचान भएको ठहर गरे। 

'नेपालमा अद्वितीय संस्कार र संस्कृति रहेछ। यो देखेर म निकै उत्साहित भएँ' पहिलोपोस्टसँग कुरा गर्दै उनले भने,' यहाँको संस्कृतिमात्रै होइन मानिस पनि अद्वितीय छन्। विभिन्न जातजाति, भाषा र धर्मका मानिसहरू एकसाथ बसेका छन्। काठमाडौँ उपत्यकाको संस्कृति र परिवेश अझै विशेष रहेछ।'

नेपाल आएपछि लुम्बिनीका साथै बुद्धस्थलहरु पुगेर बौद्ध धर्मका बारेमा जानकारी हासिल गरेका छन् उनले। हिन्दु धर्मसँग सम्बन्धित कुरा पनि बुझ्दैछन्। पुरात्तवका विद्यार्थी भएका कारण नेपालमा आएर विविध धर्म र संस्कृतिका साथै ऐतिहासिक पुरातात्त्विक बस्तुबारे अध्ययन गर्न पाउँदा खुसी छन् उनी।

म्यानहार्टका आमाबुबाले उनी सानो छँदा अन्य तीन सन्तानका साथ ऐतिहासिक स्थलहरूको भ्रमण गर्न लैजान्थे। त्यही क्रममा उनले पेन्टिङ सिके, सम्पदाप्रति लगाव बढ्यो र समय क्रमसँगै पुरातत्त्व बारेमा अध्ययन गरे। नेपालका सम्पदा क्षेत्र घुम्दा उनी आफ्ना बाल्यकालका दिन सम्झन्छन्।

पाँच वर्षयता उनी नेपालमा छन्। युनेस्को अन्तर्गत संस्कृति, शैक्षिक, वैज्ञानिक क्षेत्रमा भइरहेको काम नियालिरहेका छन्। पुरातत्त्वको विद्यार्थी भएकै कारण नेपालको छुट्टै पुरातात्त्विक विशेषताप्रति उनको लगाव धेरै नै छ।

उनको त्यो लगाव २०७२ सालको भूकम्पपछि धेरै नै बढ्यो। भूकम्प गएकै दिन पाटन दरबार क्षेत्र पुगेका म्यानहार्टले भूकम्पको त्रासबीच स्थानीय मिलेर भग्नावशेषबाट मानिसको उद्धार गरिरहेको देखे। त्योभन्दा महत्त्वपूर्ण सबै मिलेर ढलेको मन्दिरबाट मूर्ति, टुँडाल लगायत ऐतिहासिक सामान समेत जम्मा गरेर सुरक्षित राखिरहेका देखे। सम्पदाप्रतिको नेपालीहरूको माया महसुस गरे।

भने, 'स्थानीयको प्रयासबाट पुरातात्त्विक महत्त्वका सामानहरू सुरक्षित भयो। उनीहरूकै कारणले हामीले पुरानै सामाग्री प्रयोग गरेर मन्दिरहरू पुनर्निर्माण गर्न सकेका छौँ।'

हनुमानढोकामा भने अवस्था अलि प्रतिकूल थियो। भत्किएका सम्पदामाथि नै डोजर चलाइएको थियो। त्यसले त्यहाँ रहेका धेरै पुरातात्त्विक महत्त्वका वस्तुहरू विनाश भए। डोजरका कारण पुरातात्त्विक सम्पदा विनाश हुने सक्ने खतरा थियो भने उद्धार कार्य गर्नुपर्ने बाध्यता पनि थियो। यद्यपि, पुरातत्त्व विभाग, स्थानीय निकाय र सेनासँग आग्रह गरेर  हनुमानढोका क्षेत्रमा प्रयोग भएको डोजर रोक्न उनलाई तीन दिन लाग्यो।

भूकम्पपछि उनको व्यस्तता झनै बढेको छ। सम्पदा पुनर्निर्माणको काम हेर्न निर्माणस्थल गइरहनुपर्छ। अरू संस्थागत काम पनि थुप्रै छन्। केही साताअघि उपत्यकाका सम्पदाहरूलाई खतराको सूची राख्ने कि नराख्ने भन्ने बारेमा रिपोर्ट तयार गर्न युनेस्कोको 'ज्वाइन्ट रिएक्टिभ मोनिटरिङ मिसन' काठमडौं आएको थियो। त्यस क्रममा मिसनसँगै उनी काठमाडौँ उपत्यकाका सम्पदा निरीक्षणमा निस्केका थिए।

भूकम्पपछि युनेस्कोले तीनपटक नेपाललाई खतराको सूचीमा राख्ने प्रयास गरिसकेको छ। तर, सरकार पक्षले जहिल्यै पुनर्निर्माणको काम राम्रो गतिमा भइरहेको भन्दै विश्व सम्पदा कमिटी (वर्ल्ड हेरिटेज कमिटी) मा रहेका देशहरूलाई लबिङ गर्दा नेपाल खतराको सूचीबाट पर्न जोगिइरहेको छ। अर्को वर्ष हुने युनेस्कोको ४४औँ बैठकमा नेपालबारे फेरि छलफल हुनेछ।

म्यान्हार्ट भन्छन्, ' इकमर्स र इक्रोम विश्व सम्पदा कमिटीको आधिकारिक एडभाइजरी निकाय हो। उनीहरूले प्राविधिक सल्लाहबाट नै खतराको सूचीमा राख्ने कि नराख्ने भन्दै सिफारिस गर्छ। तर विश्व सम्पदा कमिटीले नेपाललाई खतराको सूचीमा नराखी हरेकपल्ट मौका दिँदै आएको छ। त्यसका लागि युनेस्को मिसन हरेकपल्ट नेपाल आएर काठमाडौँ उपत्यकामा रहेका सम्पदाहरूको निरीक्षण गर्दै आएका छन्।'

विश्व सम्पदालाई खतराको सूचीमा राख्ने किन नराख्ने निर्णय युनेस्को वा तिनको एडभाइजरी निकायले गर्ने होइन। २१ सदस्यीय कमिटीले प्रजातान्त्रिक ढंगले कुनै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई खतराको सूची राख्ने कि नराख्ने भनेर निर्वाचनमार्फत निर्णय गर्छ। युनेस्को र एडभाइजरी निकायको सिफारिस भए पनि कमिटीले आफ्नो ढंगले निर्णय गर्छ। 

तर, काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्नुलाई सरकार पक्षले आलोचनाको रूपमा लिने गरेको युनेस्कको बुझाइ छ। म्यानहार्ट भन्छन्,' मिसन आएको बेलामा सरकार पक्षले धेरै पटक आफूहरूले काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राखेको हेर्न नचाहेको बताए। खतराको सूचीमा राखेर नेपाललाई ठूलै सजाय दिइन लागेको विषयका रूपमा प्रस्तुत गरियो। खतरा सूचीको कुरालाई राजनीतिक नेतृत्वले नबुझेको कुरा मिसन आएको बेला भएको थियो। यसबारे थप निर्णय कमिटीले गर्ने हुँदा सरकार पक्षले त्यही लबिङ गर्छ।'

विवादमा म्यानहार्ट

विश्व सम्पदा क्षेत्रमा बढ्दै गएको शहरीकरण ठूलो चुनौती रहेको छ। अझ सहरमा बढ्दै गएको वायु प्रदूषणका कारण मूर्ति सम्पदासँगै अमूर्त सम्पदा खतरामा पर्ने उनी बताउँछन्।

विश्व सम्पदा क्षेत्रको संरक्षणका लागि 'कोर जोन' र 'बफर जोन' गरी दुई भागमा विभाजित गरिएको हुन्छ। सम्पदा क्षेत्रभित्र संरक्षित गरिएको मुख्य क्षेत्रलाई 'कोर जोन' भनिन्छ। पुरातात्त्विक महत्त्वका वस्तु र ऐतिहासिक स्थान, मन्दिर त्यसमा पर्छ। ती स्थानहरूको महत्त्व कायम राख्न 'कोर जोन' बाहिर 'बफर जोन' रहेको हुन्छ। त्यो क्षेत्र कोर क्षेत्रभन्दा कम संरक्षित क्षेत्रमा पर्छ। कोर जोनमा रहेका सम्पदामा असर नपरोस् भन्ने उद्देश्यका साथ बफर जोनको अवधारण ल्याएको उनले बताए।

म्यान्हार्ट भन्छन्,' कोर क्षेत्रमा रहेको सम्पदामाथि कुनै असर पर्ने देखियो भने हामी विश्व सम्पदा कमिटीमार्फत सरकारमाथि दबाब सिर्जना गर्न सक्छौँ। बफर क्षेत्रको पनि आफ्नै मापदण्ड हुन्छ। तर, बफर क्षेत्रभन्दा बाहिर रहेका संरचनाका लागि भने हामीले केही गर्न सक्दैनौँ।'

कोर जोनमा रहेका भौतिक संरचना सबैले देख्न सकिने हुनुपर्छ। अर्थात् त्यसको 'भिज्योल इम्पयाक्ट' मा असर पर्नुहुँदैन। कोर जोनमा रहेको सम्पदाहरू बफर जोनमा रहेका घरहरूका कारणले छेकिनु हुँदैन। त्यसका लागि युनेस्को सचेत रहेको उनी बताउँछन्। बफर क्षेत्रमा पुरातात्त्विक वस्तुका सामानहरू हुन सक्छ। बफर जोनमा रहेका मानव बस्तीयुक्त सम्पदा क्षेत्रको संरक्षण पनि आवश्यक रहन्छ।

हनुमानढोका क्षेत्रको 'बफर जोन' मा निर्माण भइरहेको महर्जन कम्प्लेक्सको विषयलाई लिएर म्यानहार्ट विवादमा समेत फसे। उनको पुत्ला समेत जलाइयो।

'मुख्य कुरा महर्जन कम्प्लेक्समा भएको निर्माणका बारेमा हामीलाई धेरैपछि खबर भयो। अन्डरग्राउन्ड बनाइएको विषयमा हामी पहिला नै अनभिज्ञ थियौँ' म्यानहार्टले भने,' हामीले बफर जोनमा रहेका संरचना यस्तो बनाउन भनेर निर्देशन दिन सक्दैनौँ। त्यो काम यहाँको निकायको हो। यदि महर्जन कम्प्लेक्समा अन्डरग्राउन्ड बनाइँदा हामीलाई पहिलै थाहा भएको भए हामी त्यसलाई रोक्न सक्थ्यौँ।'

महर्जन कम्प्लेक्सका बारेमा जब स्थानीयले उनलाई चिठी लेखे त्यहाँ अन्डरग्राउन्ड बनिसकेको थियो। त्यसपछि युनेस्कोको टोली गएर भवनको उचाइ मापन गर्‍यो। भवनको उचाइ पहिलाको भवनभन्दा कम पाइयो। पहिलाको भवन कंक्रिट संरचनाले बनेको थियो। अहिलेको भवन पनि कंक्रिटले बन्ने भएता पनि त्यो मौलिक डिजाइनमा बन्ने देखियो।

'विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाको कार्यालय महर्जन कम्प्लेक्सभन्दा ठिक पछाडि छ। उनीहरूले त्यसै बेला हस्तक्षेप गर्नुपर्थ्यो। सबै सकिएपछि आएर हामीलाई खबर भयो। हामीले त्यहाँ जे देख्यौँ त्यही बोल्यौँ। तर हामीमाथि नै प्रश्न उठाइयो।'

सम्पदा क्षेत्रको अनुगमन गर्ने काम पुरातत्त्व विभागको भएको भन्दै उनले भने,' युनेस्कोको काम पुरातत्त्व विभागलाई त्यहाँ भएको निर्माणबारे सचेत गराउनु हो। हामी त्यसलाई रोक्न जान सक्दैनौँ। आफ्नो कार्यालयसँगै भइरहेको निर्माणको बारेमा पुरातत्त्व विभागले पहिले नै हेर्नुपर्ने हो। सबै दोष युनेस्कोमाथि लाग्नु उपयुक्त हुँदैन।'

म्यानहार्ट काठमाडौँ उपत्यकामा रहेका दरबार क्षेत्रहरुमा महर्जन कम्प्लेक्स जस्तै अरू थुप्रै भवन बनेको बताउँछन्। तीमध्ये केही भवनहरू काठमाडौँ उपत्यका विश्व सम्पदा सूचीमा पर्नु अगाडि नै थिए। स्वरूपमा ती भवनहरू सम्पदा स्थलका लागि नराम्रो भएको उनको मत छ।

'त्यसलाई मौलिक स्वरूपमा ढाल्न सके राम्रो हुन्थ्यो। तर सूचीकृत हुनुभन्दा अगाडि नै भएकाले हामीले त्यसमा पहिला केही भनेनौँ। त्यो काम कसरी गर्ने यहाँको सरकारले निर्णय गर्ने हो। त्यसमा हामी सहयोग गर्छौँ।'

सम्पदा क्षेत्रमा अन्डरग्राउन्डका बारेमा उनी भन्छन्, ' स्वयम्भूमा अन्डरग्राउन्ड बनाउनुको कारण त्यहाँ पहिरोलाई रोक्न हो। अन्डरग्राउन्ड बनाउने कसरी नबनाउने भन्ने कुरा स्थान र परिस्थिति अनुसार फरक पर्छ। हनुमानढोका क्षेत्र परिसरमा अन्डरग्राउन्ड बनाउन भने उचित देखिँदैन। यदि गर्नुपरे पनि पुरातत्त्व विभागको निगरानीमा गर्नुपर्ने हुन्छ। तर, हनुमान ढोकामा त्यस्तो भएको देखिएन। दरबार क्षेत्रमा हुने निर्माणको कामको निरीक्षण गर्ने काम पुरातत्त्व विभागको हो। युनेस्कोसँग त्यहाँ निर्माण गर्न दिने वा नदिने भन्ने अधिकार नै छैन। यदि त्यहाँ सम्पदालाई नै बिगार्ने गरी काम भइरहेको छ भने हामी गएर गएर अनुसन्धान गर्छौँ र पुरातत्त्व विभागलाई त्यसलाई रोक्न ध्यानाकर्षण गराउँछौँ। जुन हामीले गर्‍यौँ।'

पुनर्निर्माणको काममा प्रगति हुँदैछ

म्यानहार्ट भूकम्पपछि आजसम्म काठमाडौँको सम्पदा पुनर्निर्माणको काममा धेरै प्रगति भएको बताउँछन्। पुनर्निर्माणको काममा प्रगति नभएको भन्दै जनता र मिडियाले सरकार र युनेस्कोको आलोचना गरिरहेको भन्दै उनले आफूहरूले पनि सम्पदा क्षेत्रको अवलोकन गर्दा धेरै समस्या देखेको बताए।

उनले भने 'कंक्रिटको संरचना ठड्याएजस्तै सम्पदाको पुनर्निर्माण गर्न सकिँदैन। यसको लागि धेरै अनुसन्धान गर्नुपर्छ। मन्दिर बनाउने प्रक्रियाबारे धेरैलाई थाहा छैन। त्यसको निर्माण शैलीबारेमा केही कागजात पनि छैनन्। त्यसैले आफैंले  त्यसको पहिचान गर्नुपर्ने अवस्था छ। कतिपय स्थानमा जग नै उत्खनन् गरेर अनुसन्धान गर्नुपर्ने अवस्था छ।'

काष्ठमण्डपको उदाहरण दिँदै उनले भने 'भत्किएका मन्दिरहरूको काठ, टुँडाल, इट्टा लगायतका बस्तुहरूको डकुमेन्टेसन गरेर त्यस्तै नयाँ सामाग्री बनाउनुपर्ने भएको छ। यसका लागि धेरै समय लाग्छ। त्यस्तै अहिले पुनर्निर्माणका लागि गुणस्तरीय सामान पाउन पनि उत्तिकै गाह्रो छ। हाल चलनमा रहेको इट्टाहरू हामी यसमा प्रयोग गर्न सक्दैनौँ। यसको निर्माणको लागि पुरानै शैलीका इट्टा चाहिन्छ। काठको अभाव छ। त्यही काठबाट एउटा टुँडाल बनाउनका लागि धेरै दिन लाग्न सक्छ। दक्ष जनशक्तिको अभाव पनि त छ। त्यसैले हालसम्म भइरहेको पुनर्निर्माणको काममा प्रगति नै भएको मान्नुपर्छ।'

युनेस्कोले पुनर्निर्माणको कार्यमा नेपाल सरकार, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, परात्तव विभागका साथै स्थानीय निकायहरूसँग सहकार्य गर्दै आएको छ। स्थानीयसँग पनि युनेस्कोले उत्तिकै छलफल गर्ने गरेको छ।

यद्यपि, पुनर्निर्माणको क्रममा स्थानीयबाट युनेस्कोको काममा अवरोध नभएको भने होइन। हनुमानढोका क्षेत्रमा रहेको जगन्नाथ र गोपीनाथ मन्दिर पुनर्निर्माणबाट युनेस्कोले स्थानीय जनप्रतिनिधिको अवरोधको कारण हात झिकेको थियो। नयाँ ढाँचाबाट मन्दिर पुनर्निर्माण गर्न लागेको भन्दै त्यहाँ कार्यरत युनेस्कोबाट खटाइएका व्यक्तिहरूलाई रोकियो। प्रदेश ३ का सांसद राजेश शाक्यसहित केही व्यक्तिले पुनर्निर्माण आफूहरूले नै गर्ने भन्दै अवरोध गरेको उनी बताउँछन्।

तर, म्यानहार्ट भने युनेस्कोले नयाँ ढाँचाबाट मन्दिर पुनर्निर्माण गर्न नचाहेको बताउँछन्। भन्छन्,' हामीले धेरै पटक उनीहरूलाई बुझायौँ कि हामी मन्दिर निर्माणमा पुरातात्त्विक सामाग्रीकै प्रयोग गर्छौँ। ती मन्दिरको पुनर्निर्माण कसरी गर्ने भन्नेबारे निर्णय गर्न हामीले एक वर्ष खर्चियौँ। त्यसलाई भूकम्प प्रतिरोधात्मक कसरी बनाउन सकिन्छ भनेर धेरै अनुसन्धान गर्‍यौँ। तर उनीहरूले अवरोध जारी राखे। उनीहरूले किन त्यसो गरे त्यो उनीहरूलाई सोध्नुपर्छ।'

'साइट' होइन 'जोन'

काठमाडौँमा रहेको हनुमानढोका दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भू, पशुपतिनाथ, ललितपुरको पाटन दरबार क्षेत्र र भक्तपुरको भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा छन्।

फरक-फरक ठाउँमा रहे पनि यी सबै सम्पदाहरू छुट्टाछुट्टै विश्व सम्पदा क्षेत्र भने होइनन्। युनेस्कोले उपत्यकाका सातैवटा सम्पदाहरूलाई एउटै रूपमा हेर्छ। कुनै एउटा सम्पदामा क्षति पुगे वा त्यसको संरक्षणका साथै त्यहाँको अमूर्त सम्पदाहरू नाश भए युनेस्कोले बाँकी ६ वटै सम्पदालाई हेर्ने दृष्टि नकारात्मक बन्न पुग्छ। त्यसबाट ती सम्पदाहरूलाई युनेस्कोले 'डेन्जर लिस्ट' (खतराको सूची) मा राख्न सक्छ।

म्यानहार्ट भन्छन्,' नेपालीहरूमा विश्व सम्पदा क्षेत्रलाई लिएर ठूलो भ्रम रहेछ। नेपालका चार स्थानमात्रै विश्व सम्पदा क्षेत्रमा सूचीकृत छन्। काठमाडौँमा रहेका सातवटा सम्पदाहरू छुट्टाछुट्टै साइट होइनन्। ती वर्ल्ड हेरिटेज साइटभित्र पर्ने सातवटा 'जोन' हुन्। विश्व सम्पदा क्षेत्रमा नेपालबाट चारवटा मात्रै सम्पदा सूचीकृत छन्। काठमाडौँ उपत्यकाभित्र सात सम्पदालाई युनेस्कोले एकै नजरले हेर्छ। यसबारेमा हामीले बुझाउनु आवश्यक छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell