PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध



एम बम

कैलालीमा मोटरसाइकलको ठक्करबाट २ जनाको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध
तस्बिर: दीपेन्द्र ओली

कैलाली: कैलालीमा बसले ठक्कर दिएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। आइतवार कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिक गएर नेपालगन्जतर्फ फर्कँदै गरेको बागेश्वरी यातायातको भे १ ख १७३२ नम्बरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
 
दुर्घटनामा स्थानीय रामबहादुर चौधरीको घटनास्थलमै र मानबहादुर चौधरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो। दुर्घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेको कैलाली प्रहरीले जनाएको छ।
 
क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए। 
राजमार्ग अवरुद्ध भएपछि विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका लागि छुटेका र आउँदै गरेका सवारीसाधन राजमार्गमै रोकिएका छन्।
 
दुर्घटनापछि आइतबार पनि केहीबेगर राजमार्ग अवरुद्ध पारिएको थियो। घटनास्थलमै मृत्यु भएका राम बहादुरको शव अझै सडकबाट उठाइएको छैन भने मान बहादुरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell