
काठमाडौँः नविनियुक्त प्रदेश प्रमुखहरुको आज शपथ हुँदैछ। राष्ट्रपति भवनमा बिहान ९ बजे शपथको कार्यक्रम तय भएको छ। मन्त्रिपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
नियुक्ति अनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’ चयन भएका छन्। यस्तै, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईँ प्रदेश प्रमुख नियुक्त भएका छन्। यस्तै, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकको निर्णय अनुसार प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको थियो।
सात प्रदेश प्रमुखमा पूर्व एमालेबाट चार र पूर्व माओवादीबाट तीन जना सिफारिसमा परेका हुन्। पूर्व एमालेबाट प्यासी, प्रसाईँ, यादव र कलौनी सिफारिसमा परेका हुन्। पूर्व माओवादीबाट परियार, शेरचन र पन्त सिफारिसमा परेका हुन्।