PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुकुम्वासीको नाममा खोला मिच्दै बगरमै पक्की घर, बगर नै किनबेच हुँदा नगरपालिका बेखबर



पी बी खड्का

सुकुम्वासीको नाममा खोला मिच्दै बगरमै पक्की घर, बगर नै किनबेच हुँदा नगरपालिका बेखबर

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकाभित्र खोला मिचेर बगरमा घर बनाउने क्रम बढेको छ। उपत्यकाभित्रको विभिन्न खोला अतिक्रमण गरेर घर बनाएपछि घना बस्ती बनेको छ भने जोखिम पनि उत्तिकै बढेको छ।

वर्षौंअघिदेखि वीरेन्द्रनगर उपत्यकाको इत्राम, नेवारे, खोर्के लगायतका खोला मिचेर सुकुम्वासीले बगरमा घर बनाएका हुन्। कर्णालीको हुम्ला, जुम्ला, जाजरकोट, दैलेखलगायतका जिल्लामा असंख्य घरपरिवार खोलाको बगरमा बस्दै आएका छन्। सुरुवाती दिनमा छाप्रो बनाएपनि पछिल्लो समय खोलाको बगरमै पक्कि घर बनाउने क्रम पनि बढ्दै गएको छ। सुकुम्वासी भन्दै विभिन्न जिल्लाका नागरिकले खोला मिचेर घर बनाउन थालेपछि खोलानै बस्तीमा परिणत भएको हो।

डेढ दशकअघि वीरेन्द्रनगर झरेका दैलेखका दलबहादुर सुनार पनि इत्राम खोलाको आडैमा छाप्रो बनाएर बसोवास गरेका थिए।

‘हामी खोलाको बगरमा रहरले नभएर कहरले बसेको हो’ उनले भने, ‘०६०/६१ सालतिर पहिरोले घरबास लग्यो अनि यहाँ (इत्राम खोला) झरेर सानो झुप्रो बनाए। खोलाकै बालुवा गिट्टी कुटेर घरपरिवार पाल्दै आएको छु।’

उनी जस्तै सुकुम्वासीका नाममा ऐलानी जग्गा र बगर ओगटेर घर बनाउनेको लर्को छ यहाँ। यीनै ऐलानी जग्गामा विचौलियाले कमिशनका लागि विक्रिवितरण समेत गर्दै आएको आरोप पनि छ।

वीरेन्द्रनगरकै इत्राम खोलामा विगत १२ वर्षदेखि बस्दै आएका जाजरकोटका मानबहादुर बोहराले विचौलियाबाटै घडेरी किनेर घर बनाएका छन्।

‘यो बस्ती (खोला छेउछाउका घर) सबै ऐलानी जग्गामा छन्। कसैको पनि जग्गा धनी पूर्जा छैन्’ उनले भने, ‘पहिला शुरु शुरुमा आउनेहरुले त्यसै ओगटेर घर बनाए। मैले त ६ लाख हालेर घडेरी किनेको हो।’

वीरेन्द्रनगर उपत्यकाभित्र रहेका खोलाका किनार र बगरमा घर बनाएर बस्नेको संख्या दिनदिनै बढ्दै गएपनि स्थानीय सरकारसंग कुनै तथ्यांक छैन। यसरी बसोवास गर्ने प्रायः साविकको कर्णाली अञ्चल लगायतका नागरिक रहेका छन्।

दिनदिनै सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर बनाउने क्रम बढेसँगै विपद् पर्दाको जोखिम पनि उत्तिकै बढेको छ। वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख थम्बप्रसाद गौतमले पनि सुकुम्वासीका नाममा 'हुकुमवासी' बसेको बताउँछन्। यद्यपी, उनीहरुको सत्य तथ्य छानविन भने हुन सकेको छैन।

‘अहिले सार्वजनिक जग्गा र खोलाको छेउछाउ ओगट्नेहरु सबै सुकुम्वासी हो भन्न मिल्ने अवस्था छैन। कतिपय घर घडेरी भएकाहरु पनि विक्रिवितरण गर्न ओगटेर बसेका छन्’ उनले भने, ‘यसका लागि अब राज्यले वास्तविक सुकुम्वासीको पहिचान गर्न जरुरी छ। अहिले सम्म के कति र कस्ता व्यक्तिहरु बसोवास गरेका छन्, कुनै रेकर्ड राखिएको छैन।’

बाढी पहिरोका कारण खोलाको छेउछाउ र किनार, बगरमा रहेका व्यक्तिलाई घरवारविहिन हुने गरेका छन्। बेलैमा ख्याल नगर्दा २०७१ सालको बाढीले पनि सुर्खेतमा अधिकांश खोला अतिक्रमण गरेर बसेकाहरुलाई क्षति पुगेको थियो।

वर्षैनी बाढीपहिरोबाट करोडौँको जनधनको नोक्सानी व्यहोर्नु पर्ने बाध्यता भइरहँदा स्वयं आमसर्वसाधारण र सरोकारवाला निकाय बेलैमा सचेत हुन जरुरी रहेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell