PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

उपनिर्वाचनको किचलोमा ने क पा भक्तपुर, उम्मेदवार ढकाल भन्छन् : आजै ताला खुल्छ



कुञ्जरमणि भट्टराई

उपनिर्वाचनको किचलोमा ने क पा भक्तपुर, उम्मेदवार ढकाल भन्छन् : आजै ताला खुल्छ

काठमाडौं : कात्तिक १७ गते नेपाल कम्युनिष्ट पार्टी( ने क पा) को सचिवालय बैठकले भक्तपुर लगायतका स्थानमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगायो। प्रधानमन्त्रीको अस्वस्थताबीच बेलुकी बसेको बैठकले प्रदेश निर्वाचनका लागि भक्तपुर १ (क) बाट देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाउने निर्णय गर्‍यो।

देवीलाई उम्मेदवार घोषणा गरे लगत्तै ने क पा भक्तपुरमा विवाद देखियो। आइतवार बेलुकीदेखि नै भक्तपुरका पूर्व एमाले नेता, कार्यकर्ताले पार्टीले सही उम्मेदवार छनौट नगरेको भन्दै सामाजिक संजालमा आक्रोश जनाए। फेसबुकमा स्थानीय कार्यकर्ताले सोमबार सूर्यविनायकमा रहेको पार्टी कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरे।

उपनिर्वाचन नजिकिँदै गर्दा भक्तपुर ने क पामा विभाजन देखियो। सोमबार बिहानै एक हुल नेता, कार्यकर्ता पार्टी कार्यालयमा जम्मा भए र पार्टीको निर्णय सच्याउन भन्दै नाराबाजी गरे।

देवीप्रसाद पूर्व माओवादी नेता हुन्। २०७४ सालमा भएको निर्वाचनमा भक्तपुरबाट जितेका थिए एमालेका हरिशरण लामिछानेले। देवीप्रसाद सो निर्वाचनमा पराजित भएका थिए।

लामिछानेको मृत्युपछि भक्तपुर १ (क) मा ढकाललाई उमेद्वार बनाउने सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाउँदै ने क पाकै नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। तालाबन्दी गर्ने धेरैजना पूर्व एमाले नेता कार्यकर्ता छन्।

२०७४ को निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचन लडेका थिए। भक्तपुर १ (क) माओवादीले पाएको थियो। तर, स्थानीय एमाले पक्षले भने त्यो मानेन। हरिशरण लामिछाने सूर्य चिन्ह लिएर निर्वाचनमा उठे। ढकाल गोलाकार हसिया हथौडामा प्रतिस्पर्धा गर्न बाध्य भए।

गठबन्धन भनिए पनि सो निर्वाचनमा उक्त क्षेत्रमा हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका जीवन खत्रीले ९९७७,नेमकिपाका नीरज लवजु ७०१९ ले पाए। गठबन्धबाट टिकट पाएका डिपी ढकालले मात्र ७८६ मत ल्याएका थिए।

पहिलाको निर्वाचनमा नराम्ररी पराजित भएका ढकाललाई नै फेरि उम्मेद्वार बनाउने पार्टीको निर्णयले भक्तपुर नेकपामा असन्तुष्टि उत्पन्न भएको हाल आन्दोलनरत पक्षका एक नेताले बताए। पूर्व एमाले पक्षका उनले अघिल्लो निर्वाचनको ढकाल बागी उम्मेद्वार रहेको आरोप लगाउँदै भने, 'पार्टीमा ६-७ जना आकांक्षी थिए। ती मध्ये तीन जनाको नाम केन्द्रमा पठाइएको थियो। तर पार्टीले निर्वाचनमा फेरि बागी बनेका ढकाललाई नै उममेद्वार बनाउने निर्णय गरेकोले विरोध गरेका हौं।'

उपनिर्वाचनमा ढकाललाई उम्मेद्वार बनाउँदा नेकपाले भक्तपुरमा नोक्सान बेहोर्न पर्ने ती नेताको तर्क थियो।

'अघिल्लो निर्वाचनको परिणामले नै उनले यसपटक कस्तो गर्लान् भन्न सकिन्छ। थोरै मत पाएका ढकाललाई उम्मेद्वार बनाउँदा पार्टीलाई घाटा हुन्छ,'उनले भने।

२०७४ मा गठवन्धनमा भागबण्डा गर्दा उक्त स्थान पूर्व माओवादीको भागमा परेको थियो। अहिले फेरि त्यही भागबण्डाले निरन्तरता पायो। भक्तपुरमा पूर्व एमालेले त्यसैकारणले विरोध गरिरहेका हुन्।

भक्तपुरको जिल्ला कार्यसमितिले ढकालका साथै रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ र महिलातर्फ नारायणी फुयाँलको नाम केन्द्रमा सिफारिस गरेको थियो।

**‌*

दुई दिनदेखि बन्द रहेको भक्तपुरको पार्टी कार्यालय खुल्ला गर्न दुवै पक्ष अहिले वार्तामा छ।

उम्मेदवार ढकाल भने तालाबन्दी केही व्यक्तिहरुको असन्तुष्टि उपज रहेको बताए। उनले भने, 'धेरै जना उम्मेद्वारको आकांक्षी भएकाले फलानो उठे हुन्थ्यो भन्ने अपेक्षा हुने नै भयो। केही साथीहरु असन्तुष्ट बन्नुभएको छ। यसलाई मैले अन्यथा लिएको छैन।'

बागी उम्मेदवार भनेर आरोप लगाइएकोबारे उनले भने, 'अघिल्लो निर्वाचनमा गठवन्धनले आधिकारिक रुपमा मलाई नै उम्मेद्वार बनाएको थियो। तर, त्यतिबेला मलाई अन्याय भयो। अहिले पार्टीले फेरि मलाई न्याय गरेको यहाँको जनताको भनाइ छ। त्यतिबेला म बागी होइन।त्यागी भएको थिएँ।'

ढकालले आज नै पार्टी कार्यालयमा लगाइएको ताला खुल्ने दावी पनि गरे। उम्मेद्वारी दर्ताका लागि मिति नजिक आइसकेकाले पनि ताला खोल्नुपर्ने उनको भनाइ थियो।

'पार्टीले मलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। कम्युनिस्ट पार्टीमा पार्टीकोनिर्देशन नेता तथा कार्यकर्ताले मान्नुपर्छ,' उनले भने। उनले २१ गते उम्मेदवारी दर्ता गराउन सबै जना जुटेर अघि बढ्ने बताए।

सचिवालय बैठले कास्की २ बाट प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराई, प्रदेश सभा सदस्यतर्फ दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाएको छ।

त्यस्तै बाग्लुङ २ ख मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको ने क पाले धरान उप महानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell