सुकुटे : गत आइतबार १९ जनाको ज्यान लिने गरी भएको बस दुर्घटनाले धेरैलाई झस्कायो। बस दुर्घटनाको दुई दिनपछि दुर्घटना भएको ठाउँ पुग्दा सहकर्मी प्रवीन रानाभाट र मैले दर्दनाक दृष्यका अवशेषहरुको साक्षी हुन पर्यो।
दोलखाबाट आएको बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा खसेको थियो। सोझो र राम्रो बाटो छाडेर बस खोलातिर झरेको रहेछ।
मंगलबार दिउँसो हामी यहाँ पुग्दा केही सवारीका यात्रीहरु त्यही दुर्घटनास्थल हेर्दै चुकचुकाउँदै आफ्नै गन्तव्यतिर हानिइरहेका थिए। केही भने रोकिएर बस गुल्टेको भिरदेखि नदी किनारासम्मै पुग्न पनि भ्याइरहेका।
लगभग ५० मिटर तल नदी किनारामा रहेछ बस। किनारामा आधा अडिएर बा २ ख ७२४५ नम्बरको बस उत्तानो परी डुबेको देख्दा यही बाटो भएर यात्रा गर्ने जो कोहीलाई पनि झसङ्ग बनाउछ।
बसको नजिकै देखिएका केही दृष्यहरुले दर्दनाक कथा अभिव्यक्त गरिरहेका थिए। भिरमा छरिएका ती दृष्यहरुसँग कैयन कथाहरु जोडिएका होलान्। घरबाट ल्याइएका कोसेलीहरु भिरतिर छरिएका थिए। तिहारको भाइमसलाका प्याकेट देख्दा नि:शब्द भइयो।
दसैं र तिहारको विदा मनाएर काठमाडौं पढ्न फर्किएका यही नदीमा समाहित भए। तिनका नोटबुक भने बाहिरै अल्झिए। काठमाडौंका लागि गाउँबाट जुटाएका सामलहरु पनि यत्रतत्र।
आलु, स्कुस, करेला, साग, अनि भुटेको मकै। अमला, पीठो अनि चामल पनि। भिरकै बीचतिर झोलाभरी आलै ल्याइएका साग, आचार र उत्रिएका चप्पलका दृष्यले दुर्घटनाको भयावह तस्बिर बताइरहेको थियो।
विश्वकर्माको फोटो भिरको झाडीमा झुन्डिरहेको देखियो। तल बस नजिकै झोला र कपडा छरिएका। त्यसको छेवैमा रगतका टाटा पनि।
यहाँ देखिएका यिनै दृष्यहरुले धेरै सम्भावना र अपेक्षाहरुका कथाहरुको दुखान्त बुझाइरहेको थियो। दुर्घटनामा परेर बित्नेहरु विते, तिनका परिवारसामु यो घटना जीवनभरका लागि घाउ बनिरह्यो। बाँचेकाहरुका लागि पनि यो भयावह सम्झना, जुन यही सुनकोशीबाट बग्ने पानीले कहिल्यै मेटाउन सक्ने छैन।