वीरगंज : बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन्। वीरगंजमा आउँदो बिहीवारदेखि शनिवार सम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्।
गोविन्दा पत्नी सुनिता र नायिका निरुतासिंहसहित मुम्बईबाट अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेको महोत्सव संयोजक तथा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए।
गोविन्दाको नेपालसँग पुरानो नाता रहेकोले उनलाई महोत्सवमा विशिष्ट अतिथि बनाइएको आयोजकले जनाएको छ। गोविन्दा पत्नी सुनितासँग काठमाडौंको होटल सोल्टीमा रहने छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिहीवार उद्घाटन हुने कार्यक्रमका लागि गोबिन्दा बिहीवार विहान वीरगंज आइपुग्ने कार्यक्रम रहेको छ। उनी महोत्सवको समुद्घाटन कार्यक्रममा सरिक हुने महोत्सव संयोजक अधिकारीले बताए।
काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गोविन्दाले भनेका छन्, ‘मेरा दर्शकको मायाले फेरी नेपाल आएको छु, मेरो आगमनले नेपाल–भारतको सम्बन्धमा थप उचाईमा पुर्याउने छ।’
महोत्सवको तयारीको क्रममा वीरगंज घर भएकी चर्चित अभिनेत्री सम्राज्ञी शाह पनि पुर्ख्यौली घर पुगेकी छन्। उनी दुई दिन पारिवारिक भेटघाट तथा महोत्सवको प्रचारप्रसारमा व्यस्त रहने सम्राज्ञीका हजुर बुवा तथा जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति विक्रम शाहले बताए।
वरिष्ठ कलाकार नीर शाह पनि वीरगंज आईपुगेको महोत्सव आयोजक समितिका वीरगंज संयोजक तथा निर्माता विमल पौडेलले बताए। उनले बुधवारसम्ममा नेपाली चलचित्र जगतका करिव ५४ जना कलाकार वीरगंज आइपुग्ने जानकारी गराए।