PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

विश्व सम्पदा क्षेत्रमा मनपरी, हनुमानढोका परिसर बन्यो पार्किङस्थल

विश्व सम्पदा क्षेत्रमा मनपरी, हनुमानढोका परिसर बन्यो पार्किङस्थल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ महानगरपालिकाले न्यूरोड, असन लगायत भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहेको छ। सानो बाटो त्यसमाथि दुई पांग्रे सवारीको चापका कारण ती क्षेत्रमा पैदल यात्रुहरूले सकस पूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। महानगरको यो कदमलाई धेरैले स्वागत गरे।

एकातर्फ भित्री बस्तीहरूमा सवारी आवागमन निषेध गर्ने तयारी गरिरहँदा साँझ वसन्तपुर पुग्दा त्यहाँ पार्किङ गरी राखिएका मोटरसाइकल र कारहरूले महानगरलाई गिज्याइरहेको आभास हुन्छ। अहिले साँझ परेसँगै हनुमानढोका दरबार क्षेत्र पार्किङस्थल बनेको देख्न सकिन्छ।

विश्व सम्पदा क्षेत्र प्रवेश गर्ने जुद्ध शालिकदेखि कुमारी घरसम्मै अहिले मोटरसाइकल र कारहरू निर्बाध रूपमा पार्किङ गरिरहेको देख्न सकिन्छ।

विश्व सम्पदा क्षेत्रको 'युनिभर्सल आउटस्ट्यान्डिङ भ्यालु'का अनुसार सम्पदा क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन पाइँदैन। तर, स्थानीय प्रशासनको आँखै अगाडि सम्पदामाथि असर पुग्ने गरी पार्किङ सुरु हुँदा समेत कुनै कारबाही भएको छैन।

महानगरले वसन्तपुर नजिकै स्मार्ट पार्किङको सुविधा उपलब्ध गराएको छ। खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्विट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ (चारपांग्रे मात्रै) गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाएको छ। तर पनि अहिले साँझ दरबार क्षेत्र घुम्न आउनेहरुका लागि पार्किङ गर्ने स्थान बनेको छ विश्व सम्पदा स्थल।

स्थानीय पनि यसरी निर्बाध रूपमा सम्पदास्थलमा नै पार्किङ गर्न दिएको विषयमा खुसी छैनन्। हनुमानढोकामा पार्किङ गर्न दिँदा अरू स्थानमा त्यसले गलत नजीर बस्ने र जथाभाबी पार्किङ गर्न हुन्छ भन्ने मानसिकता विकास हुने उनीहरूको तर्क छ।

त्यसो त जहिलै व्यस्त रहने भित्री बस्तीहरूमा अहिले हनुमानढोकामा पार्किङ सुरु भएयता ट्राफिक  समस्या बढ्न थालेको छ। त्यसैले पनि हनुमानढोकाबाट पार्किङ हटाउन उनीहरूले माग गर्दै आइरहेका छन्।

भूकम्पपछि वसन्तपुर क्षेत्रमा सवारीसाधन प्रवेश निषेध थियो।  जुद्ध शालिकदेखि वसन्तपुरसम्मको बाटो गद्दी बैठक बनेपछि खुल्ला भएको थियो। उसो त ललितपुर र भक्तपुरमा समेत त्यही समस्या छ। त्यहाँ पनि दरबार क्षेत्रमा नै गाडी लग्ने गरिएको पाइएको छ। 

पहिलोपोस्टका समर्थ रञ्जितले मंगलबार राति वसन्तपुर दरबार क्षेत्रमा पार्क गरी राखिएका सवारी साधनको खिचेका तस्बिरहरूः-



ट्रेन्डिङ पोस्ट

Ncell