काठमाडौँ: काठमाडौँको मध्य भागमा छ रानीपोखरी। मल्लकालीन यो पोखरी हाल पुनर्निर्माणको चरणमा छ। भूकम्पले क्षति पुर्याएको हाल कालो माटो राख्ने र पोखरीमा पानी अड्याउने तयारीदेखि मन्दिर र पुल बनाउने कार्य भइरहेको छ।
यसक्रममा रानीपोखरीको पानीको स्रोत पत्ता लगाउने धेरै प्रयास भए। रानीपोखरीमा हिटी (ढुंगेधारा) र इनारबाट पानी आउने गरेको बताइए पनि अनुसन्धानको क्रममा त्यो फेला परेको छैन।
यता, हिटी संरक्षणमा लाग्दै आएका अभियन्ताहरूले भने रानीपोखरीसँगै सम्बन्धित ऐतिहासिक स्वह्रा हिटी संरक्षणको पहल गर्दै आएका छन्।
दरबारमार्गबाट कमलादी जाने मोडमै पनि ढुंगेधारा रहेको बारेमा धेरैलाई थाहा नहुन सक्छ। कुनै बेला दरबारमार्गको परिचय बनेको स्वह्रा हिटी अहिले ओझेलमा छ।
स्वह्राहिटीलाई नेपालीमा 'तीनधारा' भनिन्छ। यही हिटीको नामबाट नै दरबारमार्ग कुनै बेला तीनधारा नामले समेत परिचित थियो। यस्तै तीनधारा पाठशालाको स्थापना पनि यही ऐतिहासिक हिटीको नामबाट गरिएको हो।
पुरातत्त्व विभागमा रहेको २०३९ सालको काठमाडौँ नगर क्षेत्रको इन्भेण्ट्रीमा यस धाराबारे चर्चा गरिएको छ।
उक्त अभिलेखमा स्वह्रा हिटीको निर्माण १४औँ शताब्दीमा भएको लेखिएको छ। त्यसको भौतिक विवरणमा लेखिएको छ, 'तीनधारा नामले प्रख्यात यी ढुंगेधाराहरु हाल सुषुप्त अवस्थामा रहेको छ। सुरुसुरुमा कलधाराको विकास नभएको बेलामा यी धाराहरु निकै महत्त्व रहेको देखिन्छ। मर्मत सम्भारको अभावमा हाल धाराबाट पानी आउन बन्द भइसकेको र फोहोर पानी जमी धाराहरु पुरिने स्थिति सिर्जना भइकोले हाल जीर्णोद्धार कार्य भइरहेको छ।'
अभिलेखका आधारमा २०३९ सालमै बस्ती विकाससँगै धारा संकटमा परेको देखिन्छ। यस्तै पुनर्निर्माण कार्य भइरहेको पनि उल्लेख गरिएको छ।
शहरीकरणसँगै ऐतिहासिक ढुंगेधाराको अस्तित्व नै लोप हुने अवस्थामा पुग्दा यसको संरक्षणका लागि खासै पहल नभएको बताउँछन् हिटी संरक्षणमा लाग्दै आएका यादवलाल कायस्थ।
फलामे बार र झाडीले ढाकेको स्वरा हिटी ब्युँताउन हाल पुरातत्त्व र वडाबाट पहल गराउन सफल भए तापनि यथोचित रूपमा काम हुन नसकेको अभिन्ताहरु बताउँछन्। भन्छन्,'स्वह्रा हिटी रानीपोखरीको चार कुनामा बनाइएको हिटीमध्ये एक हो भन्ने हाम्रो अनुमान छ। जुन धाराबाट यहाँको नाम रह्यो अहिले त्यही नै ओझेलमा पर्ने राम्रो होइन।'
पूर्व दिशातर्फ फर्केका तीनधाराको मुखमा मकरको आकृति कुँदिएको थियो। यस्तै ढुंगेधाराहरुको पूर्वमा बारी, पश्चिममा पर्खाल तथा खाली ठाउँ, उत्तरमा पर्खाल र दक्षिणमा चोक तथा बानेश्वर महादेवको मन्दिर रहेको प्रमाणहरू फेला परेका छन्।
अहिले ढुंगेधारको चारैतिर अग्ला घर बनेका छन्। केही महिना अगाडिसम्म ढुंगेधारा पुरिएको अवस्थामा थियो। कायस्थका साथमा नुरज बज्राचार्य, सुरेश डंगोल, ज्यापुन्हि इन्दु, सुदर्शन महर्जन, चिरीबाबु महर्जन, कर्मबीर बस्नेत र सुदीन मानन्धर लगायतको पहलमा स्वह्रा हिटी उत्खननको काम भएको थियो।
कायस्थ भन्छन्,'हामी आएर उत्खनन् गर्दा यहाँ केही हिटी देखिँदैन थियो। पछि यसलाई सफा गरेर हामी अहिलेको अवस्थामा ल्याउन सफल रह्यौँ। खुल्ला ठाउँ भएको कारण हिटीका टुक्राहरू सबै हराइसके। यसको संरक्षणका लागि हामी वडालाई भन्दै आएका छौँ। '
अहिले तीनवटा ढुंगेधारामध्ये बीचको धाराको स्वरूप राम्ररी देख्न सकिन्छ। त्यसको अगाडि भाग पनि भाँचिसकेको छ। यस्तै दायाँ र बायाँका ढुंगेधारा छैनन्। मन्दिर परिसरमा पुराना धाराका टुक्राहरु यत्रतत्र छरिएका छन्। त्यसैले अभियन्ताहरू पुराना सामान जोगाउन वडा अग्रसर हुनुपर्ने बताउँदै आएका छन्।
३० वर्षदेखि स्वह्रा हिटी परिसरमा बस्दै आएका फलप्रसाद तिमल्सिनाका अनुसार खुल्ला ठाउँ भएको हुँदा पहिला लागुपदार्थ सेवन गर्ने युवा आएर बस्थे। कवाडी पसल राख्नेहरूको बास नै हुन्थ्यो। ढुंगेधारा रहेको स्थानमा आगो बाल्थे। त्यही आगोका कारण ढुंगेधारामा क्षति पुगेको थियो। पछि दायाँबायाँ घर बन्न थाले र ढुंगेधारा परिसरमा फोहोर थुप्रिन थाल्यो।
१५ वर्ष अगाडिसम्म ढुंगेधारामा पानी आएको र त्यहीँ नुहाएको बताउने उनी भन्छन्,'आगो बालेर पड्किएर ढुंगेधाराहरु फुटे। यसरी सबै धाराहरु हराउन थाले। पछि यहाँका मानिसहरूले यस ढुंगेधाराका बारेमा चासो दिएनन्।'
स्वह्रा हिटीको पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट पत्र लगेर वडासम्म अभियन्ता पुगेका थिए। धेरै प्रयासपछि मात्रै वडाले स्वह्रा हिटीको पुनर्निर्माण सुरु गर्ने निर्णय गर्योे। तर अभियन्ताहरू वडाले पर्याप्त काम गर्न नसकेको बताउँदै आइरहेका छन्।
यता, वडा अध्यक्ष भरतलाल श्रेष्ठ भने आफूहरूले स्वह्रा हिटीको पुनर्निमाणको काम सुरु गरिसकेको दाबी गर्छन्।
श्रेष्ठ स्वह्रा हिटी संरक्षणमा वडा दृढ भएर लाग्ने बताउँदै भन्छन्, 'हामीले ठेकेदारमार्फत काम अगाडि बढाइसकेका छौँ। हाम्रो पहिलो प्रयास भनेर ढुंगेधारालाई पुरानै स्वरूपमा ल्याउने हो। पानी ल्याउने कुरा त्यसपछि हामी अध्ययन गर्ने छौँ। पहिलो चरणमा हामी स्वह्रा हिटीलाई पुरानै अवस्थामा ल्याउने प्रयास गर्नेछौँ।'