PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बाजुरामा जिप व्यवसायीको मनोमानी, ६५ किलोमिटरको भाडा २५ सय



रासस

बाजुरामा जिप व्यवसायीको मनोमानी, ६५ किलोमिटरको भाडा २५ सय

बाजुरा : बाजुरामा जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन्। कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा २ हजार ५०० रुपैयाँसम्म भाडा लिने गरेका छन्। महँगो भाडा जिपमै तिर्नु यात्रुका लागि बाध्यता जस्तै छ। जिप प्रयोग गर्नुपर्ने बाध्यताले भनेअनुसार भाडा तिर्नुपरेको यात्रुको दुखेसो छ।

उक्त बाटोमा एक यात्रुबाट २ हजार ५०० रुपैयाँसम्म भाडा असुली गर्ने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए। यात्रुको चापलाई मध्यनजर गर्दै व्यवसायीले मनोमानी भाडा लिने गरेका छन्। मार्तडीदेखि धनगढीसम्म ३२७ किलोमिटर यात्रा गर्दा १ हजार २०० भाडा रहेकामा कच्ची बाटोका नाममा छोटो दूरीमै खुलेआम रकम असुल्ने गरिएको उनको भनाइ छ।

मार्तडीदेखि कोल्टीसम्म ४३ किलोमिटर बाटोमा समेत १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म भाडा तिर्नुपरेको यात्रुको गुनासो छ। टिकट नदिने र दिए पनि कम लेख्ने तर बाँकी पैसा बाध्य पारेर तिराउने गरिएको यात्रुले बताएका छन्। कसैलाई भने राम्रो नहुने चेतावनी जिप व्यवसायीले दिने गरेका प्रहरीको दाबी छ। प्रहरी वा अरु कसैलाई भाडाबारे जानकारी दिए नबोक्ने धम्की दिने गरेकै कारण यात्रुले बाध्य भएर भनेको भाडा तिर्नुपर्ने अवस्था छ।

कर्णाली करिडोर नेपाली सेनाले निर्माण जिम्मा लिएको छ। तत्काल यात्रुको सहजताका लागि भन्दै केही जिप सञ्चालन अनुमति दिइएको छ। त्यही मौका पारेर जिप व्यवसायीले प्रहरीलाई समेत छलेर भाडा असुल्ने गरेका छन्। जिल्लाका सबैजसो ग्रामीण सडकसँगै अन्य मार्गमा सञ्चालन हुने जिपले पनि यात्रुबाट मनोमानी भाडा लिने गरेका छन्। सडक समस्या देखाएर यात्रुलाई व्यवसायीले खुलआम ठगी गरेर भाडा असुली गर्ने गरेका छन्।

सदरमुकाम मार्तडी–कोल्टी, मार्तडी–डोगडी, मार्तडी–घटमुनासहित कर्णाली करिडोर सडकमा पनि व्यवसायीले खुलेआम यात्रुबाट भाडा लिने नाममा बढी पैसा असुली गर्ने गरेका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र नेपाली सेनाले कर्णाली करिडोरमा प्रतिकिलोमिटर ११ रुपैयाँ लिने निर्णयसमेत गरेको थियो। सो मूल्य जोड्दा पिलुचौरदेखि जितेगडासम्मको ७१५ रुपैयाँ हुन्छ, तर यहाँ निर्णय गरेको भन्दा तेब्बर भाडा असुली जिप व्यवसायीले गर्ने गरेका छन्।

नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले सडक निर्माणमा खटिएका सेनाका इन्चार्जलाई बुझेर भाडा नियन्त्रण गर्नका लागि निर्देशन दिने बताए। कर्णाली करिडोरमा बाजुरा र कालिकोटका जिप व्यवसायीले यातायात सञ्चालन गरिरहेका छन्। चर्को भाडा असुलीसँगै क्षमताभन्दा बढी जिपको छतमा समेत गरी २० भन्दा बढी यात्रु बोक्ने गरिएको छ।

जिपको सिटपास ५ र कसैको ९ जना हुन्छ, तर छत पछाडि र ढोकामा झुण्ड्याएर यात्रु बोक्ने गरेको पाइएको छ। उद्घाटनका बेला बाजुराबाट ६ र कालिकोटबाट ६ जिप सञ्चालनमा ल्याउने प्रशासनले निर्णय गरेको थियो। तर, अहिले उक्त सडकमा जथाभावी र मनोमानीरूपमा यातायात सञ्चालन भइरहेका छन्।

कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १४५ किलोमिटर छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लामा रहेको छ। सेनाले सो सडकको जिम्मा लिएर २०७१ साल चैतबाट निर्माण शुरु गरेको थियो। अहिलेसम्म १०७ किलोमिटरमा काम भइरहेकोमध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उपसेनानी शंकर सिलवालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell