PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुर्पा हानेर दम्पतीको हत्या : कुकुरको पदचाप पछ्याउँदै प्रहरीले नियन्त्रणमा लियो ५ जना



सविन ढकाल

खुर्पा हानेर दम्पतीको हत्या : कुकुरको पदचाप पछ्याउँदै प्रहरीले नियन्त्रणमा लियो ५ जना
फाइल फोटो।

काठमाडौं : काभ्रेको नमोबुद्ध ८ स्थित तल्लो हटियामा मृत अवस्थामा फेला परेका दम्पतीको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मंगलवार बिहान प्रहरीले घरभित्र श्याकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकमायालाई मृत अवस्थामा फेला पारेको थियो। घटनाको प्रकृति हेर्दा दुवै जनाको खुर्पा प्रयोग गरी हत्या भएको देखिएको छ।

'हामीले बिहान जानकारी पाएपछि घटनास्थल पुगेर हेर्दा खुर्पा प्रयोग गरेर हत्या गरेको प्रारम्भीक रुपमा देखिन आएको छ,' जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले भने।

श्रेष्ठ दम्पतीले घरमै चिया पसल संचालन गर्दै आएका थिए। उनीहरुले पसलमा मदिरा समेत बिक्री गर्ने गरेका थिए। घटनास्थलमा प्रहरीले बियरको बोतल, ढोकाको आग्लो लगायतका सामाग्री बरामद गरेको छ। घटना भइसकेपछि प्रहरीले अनुसन्धानको लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो।

केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रबाट प्रहरीको दुईवटा कुकुर लगिएको थियो। व्लडहाउन्ड जातको पोथी जोली र जर्मन सेफर्ड म्याक्सेल अनुसन्धानका लागि प्रयोग गरिएको हो। काठमाडौंबाट काभ्रेसम्म गाडीमा लगिएको कारण जोलीले थाकेको कारण अनुसन्धान गर्न रुची नदेखाएपछि पाँच वर्षीय म्याक्सेललाई छोडिएको थियो।

'घटनास्थलमा रहेको वियरको बोलत सुँघाएर छोडियो। त्यसपछि कुकुरले करिव दुई किलोमिटरसम्म अपराधी हिँडेको बाटो ट्र्याक गरेको थियो। त्यसपछि पुन: त्यहीँ फर्कियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीले कुकुरले दिएको संकेतका आधारमा केही व्यक्तिलाई नियन्त्रणमा लिएको हो। 'कुकुर प्रयोग भएको हो। केही संकेत प्राप्त भएको छ। त्यही अनुसार केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' एसपी सापकोटाले भने।

हत्या राति भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। पछिल्लो समय अपराधिक गतिविधिमा प्रहरीको तालिम प्राप्त कुकुरको प्रयोग अनिवार्यजस्तै बन्दै गएको छ। कुकुरले दिने संकेतका कारण अनुसन्धान सफल हुने गरेको प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी रामचन्द्र सत्यालले जानकरी दिए।

म्याक्से र जोलीले यस अघि २०७५ भदौ ४ गते घरभित्र नै मृत अवस्थामा फेला परेका पूर्व राजदुत केशव झाको अनुसन्धान गरेको थियो। कुकुरले गरेको संकेतलाई एउटा क्लुका रुपमा लिएर प्रहरीले घरमा काम गर्ने सानुकान्छा तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

तामाङ अहिले पूर्पक्षको लागि थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell