PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीन र फ्रान्सबीच १५ अर्ब अमेरिकी डलरको व्यापार सम्झौता



पहिलोपोस्ट

चीन र फ्रान्सबीच १५ अर्ब अमेरिकी डलरको व्यापार सम्झौता
फोटोः रोयटर्स

चीन र फ्रान्सबीच १५ अर्ब अमेरिकी डलर बराबरको व्यापार सम्झौता भएको जानकारी आज एक चिनियाँ अधिकारीले दिएका हुन्। सम्झौता अनुसार अब २० फ्रान्सेली कम्पनीहरुले चीनमा कुखुरा, बिफ र पोर्क निर्यात गर्ने अनुमति पाएका छन्। सोमवारदेखि चीनको भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों आज फर्कनेछन्।

दुवै देशले कुखुराजन्य सामग्रीहरुको निर्यात सम्बन्धी सहमतिलाई अन्तिम स्वरुप समेत दिएका छन्। जसअनुसार फ्रान्सले चीनमा हाँससमेत निर्यात गर्न पाउनेछ। यसबाहेक फ्रान्सले बंगुरको विर्य पनि चीन निर्यात गर्ने सम्बन्धी मस्यौदालाई पनि अन्तिम रुप दिइने फ्रान्सका राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको छ।

चीनको बेइजिङ ग्यास ग्रुप र फ्रान्सेली कम्पनी एन्जीबीच चीनको उत्तरी शहर तियानजिङमा लिक्विफाइड नेचुरल ग्यास स्टेशन र भण्डारण गर्न सहकार्य गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ।

बेइजिङ ग्यास कम्पनीका एक वरिष्ठ अधिकारीले चीनमा ग्यास भण्डारणका ठूला आयोजनामा ग्यास चुहावट रोक्नेलगायत प्राकृतिक ग्याससम्बन्धी प्रविधि फ्रान्सेली ऊर्जा कम्पनी एन्जीले उपलब्ध गराउने बताएको रोयटर्सले उल्लेख गरेको छ।

यसैगरी फ्रान्सेली कम्पनी टोटल र चिनियाँ शिनर्जी समूहले याङजी नदीको डेल्टा क्षेत्रमा ट्यांकरबाट एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) वितरण गर्न संयुक्त कम्पनी स्थापना गर्ने छन्।

फ्रान्सको पारमाणविक ऊर्जासम्बन्धी बहुराष्ट्रिय कम्पनी ओरानोले सन् २०२० को जनवरीको अन्त्यसम्ममा चीनमा पारमाणविक इन्धन पुनःप्रशोधन संयन्त्र स्थापना सम्बन्धी सम्झौता गरिसक्न पनि दुवै देश सहमत भएका छन्। यसअघि उक्त संयन्त्र चीनको पूर्वी प्रान्त लियानयुङगाङमा स्थापना गर्ने योजना थियो। तर, त्यहाँका स्थानीय बासिन्दाले विरोध गरेपछि उक्त योजना चीन सरकारले रद्द गरेको थियो।

चीनले आफ्ना वायु सेवा कम्पनीहरुलाई विमान निर्माता फ्रान्सेली कम्पनी एयरबसका विमानहरु खरिद गर्न सघाउने भएको सिन्ह्वाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell