PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले गर्‍यो प्रदर्शन

भारतले नेपालको सीमा अतिक्रमण गरेको विरोधमा नेविसंघले गर्‍यो प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारत सरकारले हालसालै प्रकाशित गरेको भारतको नक्सामा नेपालका भूभाग कालापानी र लिपुलेकलाई समेत समेटेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज प्रदर्शन गरेको छ। कालापानी र लिपुलेक नेपालका अभिन्न अंग भएको उल्लेख गर्दै नेविसंघले नेपाल सरकारको ध्यानाकर्षण गराउन विरोध र्‍याली निकालेको हो।

प्रदर्शन पुतली सडकको प्रदर्शनी मार्ग हुँदै शंकरदेव क्याम्पसमा गएर टुगिंएको थियो। नेविसंघ शंकरदेव क्याम्पसको आयोजनामा भएको विरोध प्रदर्शनीमा नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्ले, निवर्तमान केन्द्रीय सदस्यहरु नवराज त्रिपाठी, रुपा शर्मा लगायतका नेताहरुको उपस्थिति थियो।

र्‍यालीमा सहभागीहरुले ‘आफ्नो माटो अर्काको दाबी किन मौन सरकार’, ‘हाम्रो माटो हाम्रो जीवन, कागजी अतिक्रमण मुर्दावाद’, ‘भारतीय हस्तक्षेपविरुद्ध जवाफ दिन घुडा नटेक सरकार’, ‘नेविसंघ युद्ध लड्न तयार छ’ लगायतका नारा लगाएका थिए। विरोध प्रदर्शनको संयोजन नेविसंघ शंकरदेव क्याम्पसका नेता दीपक ओझाले गरेका थिए।

यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बुधवार एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ। अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गरेका छन्।

'कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल सुरु गरोस्,' विज्ञप्तिमा उल्लेख छ।

नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले हालै आफ्नो नक्सा सार्वजनिक गरेको छ। कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell