काठमाडौं : केही दिनअघि भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भयो। काभ्रेका विकास तामाङको व्यासीतर्फबाट आउँदै गरेको बा ४ ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका कमल बिनायक नजिकै रातिको समयमा ठक्कर दिएको थियो।
मृत्यु हुने श्रेष्ठ पैदलयात्रु थिए। यो एउटा प्रतिनिधि घटना मात्र हो। सवारी साधनको ठक्करको कारण जेब्राक्रसिङदेखि फुटपाटसम्म हिडिरहेका पैदलयात्रुको दुर्घटनामा मृत्यु भएको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखासँग प्रशस्त नै छ। पैदल यात्रुको लागि उपत्यकाभित्रका सडक जोखिमपूर्ण भएको देखिन्छ।
'भौतिक संरचनादेखि ज्ञानको कमिले गर्दा पदैल यात्रुलाई उपत्यकाका सडक जोखिमपूर्ण छन्,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रवि पौडेलले भने।
गएको तीन महिनामा मात्र १४ जना पैदल यात्रुको दुर्घटनामा मृत्यु भइसकेको छ। विगत केही वर्षदेखिको प्रहरीको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष दुर्घटनामा मृत्यु हुने पैदल यात्रुको संख्या बढ्दै गएको देखिन्छ। दुर्घटनामा परि मृत्यु हुने मध्ये ४० प्रतिशतभन्दाबढी पैदलयात्रु रहका छन्।
'फुटपाटमा रेलिङ छैन, पैदल यात्रु धेरैलाई सडकको ज्ञान छैन र चालक पनि सडक चिन्हको ख्याल नै नगरि सवारी चलाउँछन्, त्यसैले पैदल यात्रुको मृत्यु दर बढिरहेको हो,' एसपी पौडेलले भने।
गएको आर्थिक वर्षमा उपत्यकाभित्र दुर्घटनामा परि २ सय ५४ जनाले ज्यान गुमाए। यसरी ज्यान जुमाउनेमा ९३ जना पैदल यात्रु नै थिए। धेरै जसो सडक काट्ने क्रममा दुर्घटनामा परे। जेब्राक्रसिङमा पनि पैदलयात्रु मारिएका छन्।
'चालकले जेब्राक्रसिङको वास्ता नगरेको देखिन्छ। अनि यात्रु पनि एक्कासी दौडिएर काट्ने चलन छ,' एसपी पौडेलले भने।
आर्थिक वर्ष २०६९/७० मा १ सय ४८ जनाको दुर्घटनामा मृत्यु भएका मध्ये ६३ जना पैदलयात्रु थिए। त्यस्तै आर्थिक वर्ष २०७०/७१ मा ५३ जना पैदलयात्रुले ज्यान गुमाउनु पर्यो। आर्थिक वर्ष २०७१/७२ मा १ सय ३३ जनाले दुर्घटनमा ज्यान गुमाउँदा ५७ जना पैदल यात्रु सवारीको ठक्करको कारण मारिए। त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ सय ९४ जनाले दुर्घटनामा ज्यान गुमाउँदा ६३ जना पैदल यात्रु परेका थिए।
'ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र दुर्घटना कमी हुँदैन। सबै सम्बन्धित निकाय, चालक र यात्रु पनि उतिकै सजह बन्नुपर्छ,' एसपी पौडेलले भने।
प्रहरीको तथ्याक अनुसार ७ वर्षमा उपत्यका भित्र ४ सय ८७ जना पैदल यात्रुको मृत्यु भएको देखिन्छ।