PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदूषणबाट बचाउन भारतमा 'भगवानको मुख'मा मास्क



पहिलोपोस्ट

प्रदूषणबाट बचाउन भारतमा 'भगवानको मुख'मा मास्क

भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। 'ग्यास चेम्बर' बनेको दिल्लीमा धुवाँ र धुलोको मुस्लोले सकसपूर्ण यात्रा गर्न दिल्लीबासी बाध्य छन्।

दिल्लीमा मात्रै होइन भारतका अन्य प्रदेशमा समेत प्रदूषण बढ्दै गएको छ। यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र वराणसीमा समेत प्रदूषणको मात्रा बढ्दै गएको अधिकारीहरूले बताएका छन्। दिवालीपछि वराणसीमा प्रदूषण ह्वात्तै बढेको जनाइएको छ।

प्रदूषण बढेसँगै प्रदेशभर रासायनिक हावा फैलने त्रास बढेको छ। यता, वराणसीमा वायु प्रदूषणबाट बचाउनका लागि भगवानको मुखमा 'एन्टी पोलुसन मास्क' लगाइएको छ।

एनडीटिभीका अनुसार वराणसीको शीघ्रमा रहेको प्रसिद्ध शिव पार्वती मन्दिरमा रहेका भगवान् शिव, दुर्गा र साइसाबाबको मूर्तिमा मास्क लगाइएको हो।

मन्दिरका पुजारी हरिष मिश्र भन्छन्,' वराणसी आस्थाको केन्द्र हो। हामी हाम्रो भगवानका लागि कष्ट सहेर भए पनि उनीहरूलाई खुसी र आनन्दित बनाउन चाहन्छौँ। गर्मी मौसममा मूर्तिहरूलाई शीतल राख्न हामी चन्दन लगाइदिन्छौँ। जाडो मौसममा हामी मूर्तिहरूलाई ऊनको कपडाले छोपेर राख्छौँ। त्यसै गरी प्रदूषणबाट बचाउन हामीले भगवानको मुख छोपिने गरी मास्क लगाइदिएका हौँ।'

तर, कालीको मुखमा भने मास्क लगाइएको छैन। मिश्र भन्छन्,' काली रौद्ध देवी हुन्। त्यसैले उनको जिब्रो छोप्नु हुन्न भन्ने मान्यता छ। त्यसैले हामीले उनको मुख नछोप्ने निर्णय गर्‍यौँ।'

भगवानलाई मास्क लगाइदिएको देखेर मन्दिर आउने भक्तजनहरूले समेत मन्दिर आउँदा मास्क लगाउन थालेको मिश्र बताउँछन्।

दिवालीमा पटका बाल्नुका साथै नगर कर्मचारीहरूले खुल्ला स्थानमा फोहोर बालेर प्रदूषण बढेको उनी बताउँछन्। प्रदूषणलाई रोक्नुभन्दा प्रदूषण बढाउन सबै अग्रसर भएको उनको बुझाइ छ। भने,' मानिसले आफ्नो बानी र जीवनशैली नफेरेसम्म यो समस्या कहिल्यै समाधान हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell