PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

एएफसीको असन्तुष्टि, राखेपको तयारी : के होला त दशरथ रंगशालामा नेपाल र कुवेतबीचको खेल?



मुकुन्द घिमिरे

एएफसीको असन्तुष्टि, राखेपको तयारी : के होला त दशरथ रंगशालामा नेपाल र कुवेतबीचको खेल?

काठमाडौं : दशरथ रंगशाला निर्माणको चटारो यतिबेला देखिएको छ। यसको एउटा मुख्य कारण हो मङ्सिर ३ गते यही रंगशालामा तय भएको कुवेत र नेपाल बीचको खेल। त्यस्तै दक्षिण एसियाली खेलकुदका लागि पनि रंगशाला आवश्यक छ। त्यही भएर पनि हो, रंगशालामा सिट ओछ्याउने देखि पेन्टिङ गर्ने, मैदान व्यवस्थापन लगायतका काम धमाधम भइरहेको छ। रंगशाला पनि आकर्षक देखिएको छ। तर, त्रिपुरेश्वरतर्फ रहेको भिआइपी प्यारापिट निर्माणको काम भने पूरा भइसकेको छैन।

केही दिन अघि रंगशालाको अवस्थाबारे निरीक्षण गर्न एसियन फुटबल कन्फिडरेसन (एएफसी)का प्रतिनिधिहरु नेपाल आएका थिए। उनीहरु रंगशालाको अवस्था प्रति सन्तुष्ट नरहेको स्रोतको भनाइ छ। खास गरी ड्रेसिङ रुम, भिआइपी प्यारापिट र मैदानको अवस्थामा एएफसीले चित्त बुझाएन।

यता रंगशाला निर्माण सम्पन्न गर्न लागि परेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल रंगशाला लगभग तयार भइसकेको दाबी गर्छन्।

'दशरथ रंगशालामा मुलत: भिआइपी प्यारापिटको काम बाँकी छ। एकहप्ताभित्र बाँकी कामहरु पनि सम्पन्न भइसक्ने छन्,' सिलवालले भने, 'अहिलेसम्म ८ हजार कुर्सी हामी लगाइसकेका छौं। धमाधम काम भइरहेको छ। एक हप्ताभित्र कुर्सी लगाउने काम सकिन्छ। भिआइपी प्यारापिटमा चाहिँ छानो लगाएपछि मात्र कुर्सी लगाउँछौं।'

तर, मुख्य समस्या भिआइपी प्यारापिटको छानोमा छ। चीनबाट ल्याउने भनिएको छानो अझै नेपाल आइपुगेको छैन। सामान्य प्रकृयाबाट ल्याउन अब धेरै ढिला भइसकेकाले राखेपले खेलकुद मन्त्रालयसँगको समन्वयमा हवाइ मार्गबाट ल्याउने तयारी गरेको छ।

सदस्य सचिव सिलवाल भन्छन, 'हामीले एयर कार्गो गरिसकेका छौं। स्टील स्ट्यान्ड उठिसक्नेबित्तिकै छानोको काम सुरु हुन्छ। त्यो ८ तारिक या ९ तारिक नेपाल आइपुग्छ।'

एएफसीको मैदान निरीक्षणबारे आफूले पनि जानकारी पाएको सिलवालले बताए। आफ्नो तर्फबाट एउटा प्रयास भएको भन्दै मङ्सिर ३ गते भित्र मैदान निर्माण सम्पन्न गरिसक्न प्रतिबद्ध रहेको सुनाए। सिलवालका अनुसार मैदानको विषयमा पनि एएफसीको अब्जेक्सन होइन।

'हामीले उनीहरुलाई भनेको कुरा के हो भने भिआइपी प्यारापिट पनि बन्छ। यताको प्यारापिट पनि बनिसकेको छ। खाली सिट लगाइसक्न मात्र बाँकी छ। अर्को पट्टिको क्षमता भनेको ११ हजारको हो। ३ हजार सिट हामी २ दिनभित्रै फिक्स गरिसक्छौं,' सिलवालले भने, 'मानौं भिआइपी प्यारापिट बनिसकेन भने पनि खेल सञ्चालन गर्न हामी सक्षम छौं। तर, एउटा प्रस्ताव चाहिँ मैले पनि सुनेँ। नेपालमा नगरेर अन्तै गर्ने हो कि भन्ने। फुटबलमा हेर्नुपर्ने मुख्य पक्ष २/३ वटा हो। पहिलो ग्राउन्ड, ग्राउन्ड बेठीक छ भनेर उनीहरुले भनेका छैनन्।'

भिआइपी प्यारापिट बनिनसकेको खण्डमा पनि त्यसलाई प्रयोग नगरी समेत प्रतियोगिता आयोजना गर्ने राखेप र एन्फाबीच छलफल भएको बताइएको छ। तर, यसका लागि भने एएफसीको स्वीकृति लिन कठीन छ। एएफसीले दशरथ रंगशालालाई स्वीकृति नदिएको खण्डमा भने नेपाल र कुवेतबीचको खेल कुनै 'न्युट्रल' भेन्युमा हुने सम्भावना बढेर जान्छ।

'उत्तरपट्टिको प्यारापिटका बारेमा पनि उनीहरु (एएफसीको)को कमेन्ट छैन। यतापट्टिको प्यारापिट बनिसकेन भन्ने उनीको भनाइ छ,' सदस्य सचिव सिलवालले भने, 'एन्फाका अध्यक्षज्यूसँग मेरो कुराकानी हुँदाखेरी 'इनकेस' भिआइपी प्यारापिट बनेन भने पनि त्यो प्यारापिट प्रयोग नगरेर हामी वान साइड प्रयोग पनि गर्न सक्छौं। बाँकीको निर्णय एएफसीले गरोस्।'

एएफसी सरसफाइ, ड्रेसिङ रुम, मैदान लगायतका विषयमा पनि असन्तुष्ट छ भन्ने प्रश्नमा सिलवाल सन्तुष्ट देखिएनन्। निर्माणाधीन मैदानमा निर्माण सामाग्रीले गर्दा फोहोर देखिनु सामान्य भएको उनले बताए। 

'यो कुरो मैले पनि अनौपचारिक रुपमा सुने। अब ग्रासको कुरा के हो भने इन्स्पेक्सनमा आउनेले त सम्बन्धित एन्फासँगै बसेर हेर्नु पर्‍यो नि त। यो मितिमा उनीहरु आउने हुँदा ग्रास कट हुन्थ्यो। लेभलिङ मिलाएको हुन्थ्यो। रंगशालामा गएर हेर्दा घाँस उम्रिसकेको छ,' सिलवालले मैदानमा सुकेको घाँस देखिएकोबारे कुरा गर्दै भने, 'प्यारापिटबाट हेर्दा घाँस सुकिसकेको देखिन्छ। मैदानमा गए उम्रिँदै गरेको घाँस देख्न सकिन्छ। त्यो माथिको सुकेको घाँस काट्दा हरियो नै देखिन्छ। त्यो सुकेको अहिलो सुकेको होइन, त्यो चेन्ज गरेको घाँस हो। खेल सुरुहुने मितिसम्म तयार भइसक्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell