PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिनियाँ बालबालिकालाई अनलाइन गेममा कडाइ, राति खेल्नै नपाइने



पहिलोपोस्ट

चिनियाँ बालबालिकालाई अनलाइन गेममा कडाइ, राति खेल्नै नपाइने
फोटोः बिबिसी

बालबालिकामा भिडियो गेमको कुलत हटाउन उनीहरुलाई अनलाइन गेम खेल्न चीनले कडाइ गरेको छ।

अब १८ वर्षभन्दा मुनिका चिनियाँले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन्। यति मात्र नभएर अब चिनियाँ बालबालिकाले साताको अन्त्यमा र बिदामा दिनको ३ घण्टा र साताका बाँकी दिनमा डेढ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने छन्।

चिनियाँ बालबालिकामा बढ्दै गएको अनलाइन भिडियो गेम खेल्ने लत हटाउन चीनले यो कदम चालेको बिबिसीले उल्लेख गरेको छ। चिनियाँ अधिकारीहरुले अनलाइन भिडियो गेमको लत साना बालबालिकाको स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन्।

चीन सरकारले अनलाइन भिडियो गेम सम्बन्धमा जारी गरेको निर्देशनहरुमा यस्ता गेमहरु खेल्न बालबालिकाले गर्ने खर्चको रकममा पनि अंकुश लगाइएको छ। अब ८ देखि १६ वर्षसम्मका बालबालिकाले भिडियो गेम खेल्न एक महिनामा २०० युआन (२९ अमेरिकी डलर) सम्म मात्र खर्च गर्न पाउने छन्। १६ देखि १८ वर्षका किशोरकिशोरीले भने महिनामा ४०० युआन (५८ डलर) सम्म खर्च गर्न पाउने छन्।

चीन अनलाइन भिडियो गेमको विश्वकै दोस्रो सबैभन्दा ठूलो बजार हो। यस वर्ष अनलाइन भिडियो गेम खेल्नमा चिनियाँभन्दा अमेरिकीले सबैभन्दा बढी खर्च गरेको रिसर्च कम्पनी न्युजूले जनाएको छ। 

भिडियो गेमकै कारण चिनियाँ बालबालिकाहरुको दृष्टि कमजोर भएको भन्दै चीनले नयाँ अनलाइन गेमहरुको संख्या सीमित गर्न गत वर्ष यस्ता गेमहरुको नियामक निकाय गठन गरेको थियो। उक्त निकायलाई गेम खेल्ने समय र उमेर तोक्ने अधिकार दिइएको थियो।

गत वर्ष नै चीनले नयाँ भिडियो गेमहरुलाई अनुमति दिनसमेत नौ महिना रोकेको थियो। तर यस्ता प्रतिबन्ध लगाए पनि कार्यान्वयन गर्न र भिडियो गेम खेल्नेहरुको उमेर थाहा पाउनु चुनौतीपूर्ण काम हुनेछ। चीन सरकारको यो प्रतिबन्ध सबै प्रकारका अनलाइन गेमिङ प्लेटफर्ममा लागू हुने बताइएको छ।

गत वर्ष नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनलाइन भिडियो गेम खेल्ने कुलत (गेमिङ डिस्अर्डर)लाई मानसिक स्वास्थ्यसम्बन्धी बिरामीका रुपमा परिभाषित गरेको थियो।

अमेरिकी साइकियाट्री एसोसिएशनले हालै मात्र जारी गरेको मनोरोगसम्बन्धी नियमावलीमा अनलाइन भिडियो गेमको लतलाई रोगका रुपमा राखिएको त छैन तर इन्टरनेट गेमिङ डिस्अर्डरलाई अध्ययन गर्नुपर्ने विषयका रुपमा उल्लेख गरिएको छ।

विश्वका केही देशहरुले अत्यधिक अनलाइन भिडियो गेमहरु खेल्नुलाई सार्वजनिक स्वास्थ्यको क्षेत्रको ठूलै समस्या मानेको छ र यसको उपचार गर्नका लागि निजी क्लिनिकहरुसमेत खोलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell