PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रम ओलीको सक्रियताले के संकेत गर्दैछ? {टिप्पणी}



सविन ढकाल

प्रम ओलीको सक्रियताले के संकेत गर्दैछ? {टिप्पणी}

विरामीका कारण सुस्ताएको चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली यसरी सक्रिय देखिए कि उनको आलोचना गर्नेहरु हेरेको हेर्‍यै रहे। किड्नीले काम गर्न नसकेपछि ग्रान्डी अस्पतालमा उपचार गराएका ओलीको डायलासिस गरिएको थियो। प्रधानमन्त्री ओलीको दुई दिन लगातार डायलासिस गरियो जबकि उनलाई फलो-अपका लागि मात्र त्यहाँ लगिएको थियो।

अप्रत्यासित रुपमा प्रधानमन्त्रीको डायलासिस गरिएपछि प्रश्न उठ्नु स्वभाविक थियो - प्रधानमन्त्री अब सक्रिय रुपमा काम कसरी गर्न सक्छन्?

कम्तिमा पनि केही समय ओलीले आराम गर्ने अनुमान धेरैको थियो। तर, भएन त्यस्तो। अस्पतालबाट निस्किएपछि प्रधानमन्त्री ओलीले आफ्नो कामको रफ्तार बढाए। सबै प्रदेश प्रमुखहरुको एकै दिन बर्खास्ती र एकै दिन नियुक्तिको निर्णयमा ओलीको सक्रियताले सबैको अनुमानलाई फितलो बनाइदियो।

अनुमान मात्र होइन, प्रधानमन्त्री ओलीले लिएको निर्णयले राजनीतिक क्षेत्र पूरै तरङ्गित बन्यो। कार्तिक १७ गते बसेको मन्त्रिपरिषदको बैठकले सातवटै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो। त्यसको चौबीस घण्टा बित्न नपाउँदै नयाँ प्रदेश प्रमुख समेत नियुक्ति गर्न भ्याइहाले उनले। त्यही बीचमै विश्व विद्यालयमा रोकिएको उपकूलपतिको नियुक्ति पनि अघि बढ्यो।

प्रधानमन्त्री ओलीले गरेका राजनीतिक बर्खास्ती वा नियुक्ति होस् अथवा विश्वविद्यालयको रिक्त पदमा स्थापना, असामान्य अवस्थाको व्यक्तिबाट हुने काम थिएनन् यी सबै। क्रिटिनानको मात्र उच्च देखिएको भनिएका प्रधानमन्त्री ओलीको पुनः डायलासिस गर्नुपर्ने अपेक्षा गरिएको थियो। तर, उनको स्वास्थ्य अनुमान गरेजस्तो खराब देखिएन। स्वास्थ्यमा देखिएको सुधारले राजनीतिक गतिविधि बढाउन ओलीलाई थप आक्रमक बनाएको देखिन्छ।

प्रधानमन्त्री ‌ओलीले केही दिन यता आफ्नो निवास बालुवाटरमा नेता तथा मन्त्रीको भेटघाटलाई बाक्लो बनाएका छन्। फटाफट बर्खास्त र नियुक्ति देखेका राजनीतिक वृत्तले प्रधानमन्त्रीको यो सक्रियताले अहिलेको सरकारमा पनि केही परिवर्तन हुनसक्ने आँकलन गरेको छ। त्यो आँकलन के हुनसक्छ? पार्टीभित्रको नेतृत्वको विषय या मन्त्रिपरिषदमै फेरबदल? सरकारको नेतृत्वमा आउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहिलेको अभिव्यक्तिदेखि पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको असन्तुष्टिसम्म कसरी सम्बोधन हुनसक्छ?

देशका दुई प्रमुख पार्टीहरुको एकीकरणका समयमा भएका सम्झौता एकातिर छ। पार्टी अध्यक्षसमेत रहेका ओलीका लागि त्यसको कार्यान्वयन गर्ने अथवा त्यसकै 'रेफरेन्स'मा अर्को सहमतिका बुँदा तयार पार्नुपर्ने बाध्यता पनि छ। पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिलाई अर्को कुनै सहमतिबाट टुङ्गोमा पुर्‍याउनुपर्ने डेडलाइन नजिकिँदै गर्दा ओलीको सक्रियता बढेको जो कसैले पनि अनुभूति गर्न सक्छ।

प्रधानमन्त्री ओलीलाई सरकारसँगै सिंगो नेपाल कम्युनिट पार्टीका ने क पाको पनि जिम्मेवारी छ। प्राविधिक हिसाबमा पार्टीको जिम्मेवारीको आधा हिस्सा अर्का अध्यक्ष पुष्पकल दाहालको काँधमा पनि छ। तर, पार्टीको शीर्ष सूचीमा प्रष्ट रुपमा देखिन्छ - सिनियर र जुनियर। प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकलाई दिएको एक अन्तर्वार्तामा दुई अध्यक्ष रहे पनि सिनियर र जुनियर भने रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको सोझो अर्थ हो - सरकारको नेतृत्वसँगै पार्टीको अध्यक्ष संख्या दुई भए पनि नेतृत्व चाहिँ ओलीकै हो अहिले। प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिप्रति प्रचण्डको प्रतिक्रिया सार्वजनिक भएको छैन।

र, सकारको नेतृत्व नफेरिने विषयमा ओलीमात्र होइन, प्रचण्डकै पनि अभिव्यक्ति आउन थालेको छ। बुधवार मात्रै प्रचण्डले दाङ पुगेर नेतृत्व आधा आधाको कुरा इतिहास भइसकेको बताउनुको अर्थ सोझो छैन। आखिर किन प्रचण्ड सरकारको नेतृत्व गर्ने चाहँदैनन्? कि प्रधानमन्त्री ओलीले नेतृत्व दिन नखोजेका हुन्?

स्वास्थ्यमा समस्या देखिएपछि बालुवाटर निवासमा नै आराम गरिरहेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सम्पर्क भने बाक्लिएको छ। विरामी भेट्न अस्पताल पुग्दा र भेटेर फर्किँदा प्रचण्डको मुहारमा देखिएको भावभङ्गीले पनि धेरै कुरा अभिव्यक्त गर्छ।

आज मध्यान्ह त्यसैगरी प्रचण्ड र प्रधानमन्त्री ओलीबीच भेट भयो। दुईबीच सरकारका मन्त्रीहरुको कामकारबाही र पार्टी नेतृत्वको विषयमा छलफल भएको बालुवाटर स्रोतको भनाइ छ।

धेरैले प्रधानमन्त्रीको स्वास्थ्यका कारण आराम गर्नुपर्ने सुझाव दिँदै आए पनि उनको राजनीतिक सक्रियताले भने ती सुझावलाई लत्याएको देखिन्छ। प्रधानमन्त्रीलाई सुझाव दिनेमा उनका पार्टीका मात्र छैनन्। राजनीतिमा एउटा स्वर निकालेर अर्कै सन्देश दिइनु अनौठो होइन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका जुझारु नेता गगन थापाले संसदमा नै प्रधानमन्त्री ओलीलाई आराम गर्न सुझाव दिएका थिए। उनको सुझाव नि:स्वर्थपूर्ण थियो कि प्रधानमन्त्री विरामी भएकाले देशको अवस्था बिग्रियो भन्ने? उनै जानुन् तर यति चाहिँ पक्का हो, प्रधानमन्त्री ओली आराम गर्ने मुडमा देखिदैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell