PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चलचित्र स्वर्णिम महोत्सवमा कलाकारमय बन्यो वीरगंज

चलचित्र स्वर्णिम महोत्सवमा कलाकारमय बन्यो वीरगंज

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : वीरगंजमा आज नेपालकै प्रथम नेपाली चलचित्र स्वर्णीम महोत्सव शुरु भएको छ। महोत्सवको पहिलो दिन आज विहान प्रभात फेरी गरिएको छ। घण्टाघरदेखि शुरु भएको झाँकीसहितको प्रभात फेरीमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत विभिन्न संघसंस्था तथा राष्ट्रिय कलाकारहरुको सहभागितामा रहेको थियो।

महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यान्हमा गरेकी छिन्। कलाकारहरुलाई स्वर्णीम सम्मान समेत प्रदान गर्ने कार्यक्रम रहेको छ। औद्योगीक नगरी वीरगंजमा शुरु भएको फिल्म महोत्सवको पहिलो दिन १२० जना कलाकारको प्रस्तुति हुने चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले बताए।

तराई र मधेशका कथा, कला, साहित्य तथा संस्कृतिलाई पनि नेपाली चलचित्रमा महोत्सवमा समेटिएकोले स्थानीय, राष्ट्रिय र विदेशी कालाकारको विशेष प्रस्तुति हुनेछ। वीरगंजमा अहिले सम्म नेपाली कलाकार भुवन केसी, शिव श्रेष्ठ, विराज भट्ट, दिपाश्री निरौला, निरुता सिंह, सम्राज्ञी शाह,सुनिल थापा, निता ढुङ्गाना लगायत कलाकारको सहभागिता रहेको छ।

विशेष अतिथिको रुपमा बलिउड अभिनेता गोविन्दा छन्। पहिलो दिन सुरु हने कालाकारको प्रस्तुति ३ घण्टा सम्म चल्ने आयोजकले जनाएको छ। नेपाली चलचित्र ५३ वर्षमा प्रवेश गरेको अवसरमा नेपाली चलचित्र स्वर्णीम महोत्व राष्ट्रिय रुपमा आन्तरिक, बाह्य पर्यटन प्रबर्द्धन गर्न र नेपाली चलचित्रको विकास तथा तराई मधेशको अस्तित्व, कथा र कलाकारको खोजीको रुपमा यो कार्यक्रम काठमाडौंमा नभई वीरगंजमा हुन लागेको महोत्सव आयोजक समिति वीरगंजका उपाध्यक्ष हरि पन्तले जानकारी गराए।

करिव १ करोड २० लाखको लागत भरहेको स्वर्णीम महोत्सवको नेपाल पर्यटन बोर्ड, प्रदेश २ सरकार, वीरगंज महानगरपालिका, पर्यटन प्रबर्द्धन विकास समिति प्रदेश नम्बर २, भिजिट नेपाल २०२० तथा विभिन्न औद्योगिक प्रतिष्ठानको सहयोगमा आयोजना गरिएको हो। महोत्सवमा ५ हजार देखी २ सय सम्मको टिकटको व्यवस्था गरीएको छ। महोत्सवको दोस्रो र तेस्रो दिन विभिन्न फिल्म तथा डकुमेन्टी प्रदर्शन, फिल्म बारे समीक्षा, फिल्मको विभिन्न विषयवस्तु बारे सहभागीलाई जानकारी तथा संगोतिक प्रस्तुति रहने छ। अन्तिम दिन प्रदेश २ का मुख्यमन्त्रि लालबाबु राउतले महोत्सव समापन गर्ने कार्यक्रम रहेको छ।

बिराजलाई घेरे दर्शकले

प्रभातफेरीमा सहभागी कलाकारसँग सेल्फीदेखि कुराकानी र फोटो खिचाउनेको भीडभाड देखियो। जसमा धेरैले अभिनेता विराज भट्टसँग भेट गरे। नेपाली सिनेमासँगसँगै भोजपुरी सिनेमामा पनि विराजको अभिनयले गर्दा मधेशको जनताले उनलाई बढि चिन्छन्।

उनले सन २०१७ की मिस नेपाल निकिता चण्डकसँग बनेको साङ्गो फिल्मको प्रोमोशनको क्रममा पनि महोत्सवमा आएको र वीरगंज लामो समयपछि आउँदा निकै फरक अनुभुति भइरहको सुनाए।

दीपाले भनिन, ‘वीरगंज मेरा बर्थ प्लेस हो’

सबै कार्यक्रममा अभिनेता दिपक राज गिरीसँग देखिने अभिनेत्री दीपाश्री निरौला अभिनेत्री कमलासँग देखिइन्। उनले वीरगंज उनको जन्म थलो भएको कारण यहाँ चलचित्र महोत्सव र उनको सहभागीता हुनु दुबै सुखद क्षण भएको बताइन्।

‘म जन्मेको ठाउँ हो, वीरगंज। एकदम्मै खुशी लागेको छ, फिल्म महोत्सवले नेपाल र पहाडलाई जोडने काम गरेको छ। कलाकार साथीहरुबीच हिजै छलफल पनि चलेको छ, दुवै परिवेशका कलाकारलाई मिलाएर एउटा फिल्म बनाउने निर्णय भएको छ, हेर्दै जाऔं के हुन्छ,’ उनले भनिन्।

उनले छक्का पन्जा र शुत्रगते दुवै फिल्मलाई वीरगंजका दर्शकले अत्यधिक माया दिएको पनि चर्चा गरिन्।

अब नेपाली फिल्मको दर्शक बढ्छन् : भुवन केसी

नेपाली चलचित्रका सदाबहार अभिनेता भुवन केसीले वीरगंजको महोत्सवले नेपाली सिनेमा प्रति दर्शकको संख्यामा बृद्धि गर्ने बताए।

‘जुन प्रकारको अहिलेको तथ्यांक छ, नेपाली सिनेमाबाट थुप्रै समुदाय, वर्ग भाषाभाषी र कला साहित्य टाढा छ। वीरगंजमा पछि अन्य दुर्गम ठाउँहरुमा पनि महोत्सव आयोजना गछौं’ उनले भने, ‘यसरी सबैको अस्तित्व समेटेको सिनेमा जब बन्न थाल्छ, अवश्य नै नेपाली सिनेमा हेर्ने दर्शकहरुको संख्यामा बृद्धि हुने छ।’

कलाकारहरु निकै उत्साहित छौं : नीर शाह

वीरगंजको महोत्सवमा सहभागी हुन पुगेका वरिष्ठ कलाकार तथा पहिलो टिभी प्रस्तोता नीर शाहले नेपाली सिनेमा ५३ वर्षमा प्रवेश गरेको अवसरमा वीरगंजमा यस्तो भव्य र सभ्य कार्यक्रम आयोजना हुनु र सम्पूर्ण नेपाली सने जगतका कलकार कार्यक्रममा एकै साथ सहभागी हुनुमा आयोजक कमिटि तथा नेपाल चलचित्र निर्माता संघलगायत सबै सरोकारवाला निकायलाई धन्यवाद दिएका छन्।

उनले पुराना तथा नयाँ सबै पुस्ताका कलाकारहरुमा उत्साह पाएको सुनाए। साथै, यस्तो महोत्सवले दर्शकसँग भेट गराउनेदेखि आफनो कामको बारेमा पनि कमी कमजोरीलगायत पत्ता लगाउने मौका पनि पाइने भएकोले विशेष अवसर भएको बताए।

प्रभातफेरीमा पाठशाला विद्यालयका विद्यार्थीहरु थारु कला तथा भेषभूषामा सजिएर सहभागी भएका थिए। जसमा दउरा, किसानको अवतार तथा घाटो कलशालगायत बोकेर विद्यार्थीहरु सहभागी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell