काठमाडौं: पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति पक्राउ परेसँगै प्रहरीले उनकी छोरीलाई समेत नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको हो।
अध्यक्ष रुप ज्योतीलाई बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। ' छोरीलाई पनि हिजो नै नियन्त्रणमा लिएका हौं। अनुसन्धान भइरहेको छ।' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।
नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।
तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए। सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो।
सिल्क एयरबाट नेपाल उत्रिएलगत्तै उनलाई पक्राउ गरिएको हो।
उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए।