
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत चारवटा फिल्म प्रदर्शनमा आएका छन्। 'घामड शेरे', 'जीवन काँडा कि फूल', 'बाला' र 'लास्ट क्रिस्मस' गरि चार फिल्म प्रदर्शनमा आएका हुन्।
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म 'घामड शेरे'लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। सामाजिक कथा वस्तुमा निर्माण गरिएको यस फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला गौरी मल्ल लोकेन्द्र लेखक लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा स्वस्तिमा निश्चलको सालीको भूमिकामा प्रस्तुत भएकी छिन्।
त्यस्तै फिल्म 'जीवन काँडा कि फूल' पनि आजबाट प्रदर्शनमा आएको छ। फिल्म साहित्यकार झमक घिमिरेको कृति जीवन काँडा कि फूलमा आधारित रहेको छ। फिल्मलाई विनोद विष्टले निर्देशन गरेका हुन्। विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको छ। अपाङ्गता भएकै कारण साहित्यकार घिमिरेले बाल्यकालमा भोग्नु परेको सामाजिक पारिवारिक घृणा र तिरस्कारको कहानीलाई फिल्ममा प्रस्तुत गरिएको छ।
हलिउड फिल्म 'लास्ट क्रिस्मस' लाई पाउल फेइगले निर्देशन गरेका हुन्। ड्रामा र रोमान्स जनारामा निर्माण भएको यस फिल्ममा हेन्री गोल्डिङ इमिलि क्लारकि लगायतले अभिनय गरेका छन्।
आयुष्मान खुराना स्टारर फिल्म 'बाला'लाई अमर कौसिकले निर्देशन गरेका हुन्। फिल्ममा आयुष्मानसँगै भुमि पेडनेकर, यामी गौतम, सौरभ सुक्लालगायतका कलाकारहरुले अभिनय गरेका छन्। 'बाला' कमेडी जनाराको फिल्म हो।