PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिका लैजाने भन्दै बिहे, कोरियामा कामको प्रलोभन, केटाहरु लठ्ठ : 'नटवरलाल' युवतीको क्राइम स्टोरी



पहिलोपोस्ट

अमेरिका लैजाने भन्दै बिहे, कोरियामा कामको प्रलोभन, केटाहरु लठ्ठ : 'नटवरलाल' युवतीको क्राइम स्टोरी

  • फूलमान तामाङ -

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका एक युवकलाई सामान्य चिनजानपछि एक शहरी युवतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन्। सोफी तामाङ नाम गरेकी ती युवतीको रिक्वेस्ट तुरुन्तै एसेप्ट गरे ती युवकले।

ती युवतीसँग गाउँले युवकको फेसबुकमा रमाइला कुरा हुन थाल्यो। भर्खर प्लस टु गर्दै गरेका ती युवकलाई मायाप्रेमका कुरामात्र हैन विदेश लैजाने बताइन् युवतीले।

शहरी युवतीको प्रेम र विदेश लैजाने प्रस्तावले युवक लोभिँदै गए। आफू एमबीबीएस पढ्दै गरेको र नर्ससमेत भएको युवतीको प्रारम्भीक परिचय थियो। बिहे गरे अमेरिकामा डिपेन्डेन्ट भिसामा लैजाने प्रस्ताव युवतीले गरिन्। एकैपटक बिहे पनि अमेरिका पनि। दुवै हातमा लड्डु पर्ने देखिएपछि युवक मक्ख।

दशैंको छेको पारेर युवकले काठमाडौंको डेराबाट गाउँ लगे ती युवतीलाई। युवतीले आफूहरु चाँडै अमेरिका जाने योजना गाउँलेलाई समेत सुनाइन्। पढेलेखेकी, शहरकी र उच्च घरनाकी युवती। त्यसमाथि अमेरिका जाने तयारी। त्यसमाथि गाउँका इमान्दार युवा मन पराउने उनको शैलीले गाउँले पनि दङ्ग। अमेरिका, नर्स, उच्च घरना सबै कुराले गाउँका धेरैलाई तान्यो।

युवक त केही दिनमै अमेरिका उड्न पाउनेमा मक्ख। किन भने काठमाडौंमा हरेक दिन दु:ख गर्दा पनि प्रगतिको बाटो पहिल्याउन सकेको थिएनन् उनले।

गाउँमा हुनेवाला श्रीमतीको चर्चा चलेपछि मख्ख थिए उनी। अनि दशैंको टीकाको दिन उनीहरुको लगनगाँठो कस्सियो। तामाङ परम्परा अनुसार बिहेपछि औपचारिक रुपमा नै उनीहरु श्रीमान् श्रीमती भए।

लोग्नेलाई अमेरिका, गाउँलेलाई कोरिया

अमेरिका लैजाने भन्ने कुराले धेरैको मन जितेकी सोफीले गाउँलेलाई आफ्नो आमा कोरिया रहेको बताएकी थिइन्। त्यसपछि उनले आफूले सजिलै जोसुकैलाई पनि कोरिया पठाउन सक्ने दाबी गरिन्। रोजगारीका लागि दक्षिण कोरिया पनि राम्रो देश भएकाले उनको कुराले धेरै लोभिए। त्यसो त उनले गाउँ पुगेपछि त्यहाँका युवाहरुलाई मनपर्ने कपडासमेत उपहारका रुपमा किन्दिन्थिन्। जन्म दर्ताको आधारमा कोरिया पठाइदिने उनको बचन थियो।

फेमिली भिसाबाट कोरिया पठाउने भन्दै उनले बिहेको केही दिनमै ३ जनाबाट २/२ लाख रुपैयाँ र एक जनाबाट एकलाख उठाइन भ्याइन। श्याम तामाङबाट २ लाख, लोप्साङ तामाङ (अजय) २ लाख, च्याङबा तामाङ (टाकुरे) बाट २ लाख र युवकका ठूलो आमा(अर्चले)बाट एक लाख रुपैयाँ तत्कालै पाइन्। अरु युवाहरुलाई पनि कोरिया पठाउने भन्दै पैसा माग्न थालिन्।

लगत्तै उनले आफ्ना श्रीमानलाई बाइक उपहार दिइन्। गाउँमा उक्त बाइक ससुरालीको दाइजो भनेर भित्र्याइयो। युवक बाइक पाएपछि झनै मक्ख।

पैसा बुझाएका युवाहरुलाई कोरियामा कात्तिक १२ गते नै उडाउने उनले सुनाइकी थिइन्। तर, भिसा प्रोसेसिङ केही भएको थिएन। असोज २९ गते सोफी सिन्धुपाल्चोककै धार्मिक स्थल पाल्चोक पुगिन्। त्यहाँबाट फर्केपछि सात लाख रुपैयाँसहित सुन हराएको भन्दै गाउँमा रोइकराइ गर्न थालिन्। पैसा हराएको हल्ला चलाएकै दिन उनले कोरिया उड्ने दिन सरेको खबर पनि सुनाइन्।

तिहारमा आउँदा बच्चा पनि साथमा

भर्खरै बिहे गरेकी युवती तिहारमा घर आउँदा साथमा डेढ वर्षको बच्चा पनि लिएर आइन्।

अखिर बच्चा कसको त? बच्चा देखेपछि युवक झस्किए।

ती बच्चाको कोही नभएको र टुहुरालाई आफूले स्याहारेको उनको जवाफ थियो।

अमेरिका र बाइकले युवकको मन पग्लिसकेको थियो। ती युवकले उनलाई केही भन्न सकेनन्।

भाइटीकाको भोलिपल्ट श्रीमान श्रीमती दाइजोको बाइक चढेर काठमाडौं फर्के।

 

बेचियो दाइजोको बाइक

कात्तिक १३ गते काठमाडौं आएपछि सोफी बैंकमा पैसा निकाल्न भन्दै डेराबाट निस्किइन्। तीन घन्टापछि डेरा फर्किन् तर रित्तो हात। पैसा झिक्न मिलेन भनिन् सोफीले। साथमा उनका दाइ पनि आइपुगेका थिए। अब पैसा निकाल्न अर्को बैंक जानुपर्ने र बैंक टाढा भएको भन्दै श्रीमानसँग बाइकको चाबी मागिन्। बच्चा श्रीमानकै साथमा छाडिन्।

एनएस बाइक लिएर उनीहरु रिकन्डिसन हाउस पुगिन्। बाइक धनी आफ्नो भाइ भएको र उनी दुर्घटनामा मरेको भन्दै किरिया खर्चका लागि बाइक बेच्नै पर्ने बाध्यता सोफीले सुनाइन्। केही बेरमा बिक्री भयो बाइक। उक्त बाइक दुर्घटनाबारे हल्ला केहीबेरमै गाउँसम्म पुग्यो। तर, बाइकको साथमा गएका सोफी र उनका दाइ भने बेपत्ता भए।

त्यतिमात्र हैन युवकको फोन पनि ती युवतीले लगिसकेकी थिइन्। पछि सम्पर्क गरी बच्चाबारे सोध्दा युवतीले 'त्यो बच्चा अर्कैको हो मारे नि मार पाले नि पाल' भन्दै फोन काटिन्। त्यसपछि भने छाँगाबाट खसे झैं भए ती युवक।

 

प्रहरीमा पुग्दा छैन प्रमाण

दाइजो भनी पाएको बाइक सोफीले कोरिया पठाउँछु भन्दै युवाहरुबाट उठाएको रकमले किनेकी रहिछिन्। साढे तीन लाखमा किनेको उक्त बाइक दुर्घटना भएको भन्दै उनले साढे दुई लाखमै बेचेको खुल्यो।

कोरिया पठाइदिन्छु भन्नेहरुले पनि ती युवकलाई सम्पर्क गरेपछि सबै प्रहरीकहाँ गुहार माग्न पुगे। तर, प्रहरीमा उजुरी दिन न त ती युवकको हातमा केही प्रमाण थियो न त ठगिएकाहरुको नै।

'ठगी गरेको देखिन्छ। तर, कुनै कागजी प्रमाण भने छैन,' महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेस सिंहले भने।

उनीहरुले रकम दिएको प्रमाण पनि केही थिएन। कात्तिक १३ गते बौद्ध प्रहरीकोमा पुगेपछि प्रहरीले एउटा चेक भेटे- जोरपाटी शाखामा नेपाल बैंकको। सो चेकमा उक्त बच्चाको बुवा भनिएको व्यक्तिको नाम रहेछ।

'अहिलेसम्म ३ जना पुरुषले आफूसँग विवाह गर्दै ठगी गरेको उजुरी आइसकेको छ। अन्य ६ देखि ७ जना युवा पनि ठगिएको भन्दै सम्पर्कमा आएका छन्,' डिएसपी रमेश सिंहले भने, 'उनीहरुको पनि उजुरी कुरिरहेका छौं।'

प्रहरीले हिजो बिहीवार ती युवतीलाई पक्राउ गरेको छ। पक्राउ परेकी उनलाई आज म्याद थप गरेर हिरासतमा नै राख्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell