
काठमाडौं : जम्मु कश्मीरमाथिको नयाँ व्यवस्थालाई लिएर भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय क्षेत्रभित्र समेटिएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत परामर्श बैठक बोलाएका छन्।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नक्सामाथि असन्तुष्टि जनाइसकेको छ भने भारत सरकारले नयाँ नक्सामा नेपालतर्फ कुनै फेरबदल नभएको दावी गरेको छ।
भारतीय नक्साकै विषयलाई लिएर सबै राजनीतिक दलका विद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन्। उनीहरुले भारतीय दूतावास अगाडि प्रदर्शनका कार्यक्रमहरु गरिरहेका छन्।
यसैबीच प्रधानमन्त्री ओलीले विवादास्पद नक्साबारे बृहत् परामर्श बैठक बोलाएका हुन्। बैठकमा सबै पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र सबै दलका नेताहरुलाई बोलाइएको छ। बैठक शनिबार बालुवाटारमा हुनेछ।