PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ठगी गिरोहका 'नटवरलाल' सञ्जय राणा जेल चलान



एम बम

ठगी गिरोहका 'नटवरलाल' सञ्जय राणा जेल चलान

कैलाली : २४ करोड ठगीको अभियोगमा गत भदौ १८ गते धनगढीबाट पक्राउ परेका सञ्जय राणालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ।

अदालतले राणासँगै पक्राउ परेका उनका सहयोगी साबिक मकवानपुर आम भन्ज्याङ गाविस घर भई हाल धनगढी उपमहानगरपालिका ३ बस्ने रुद्रप्रसाद अधिकारीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरेको छ। त्यस्तै राणाको घरमा सहयोगी रहेर काम गर्ने कमल बहादुर विकलाई ३ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।

राणाले भाडामा लिएर ठगी धन्दा चलाउँदै आएको घरकी घरधनी राणाकी साली भनिएकी कल्पना दियाकोटी (साउद)सँग पनि अदालतले ३ लाख ५० हजार धरौटी माग गरेको छ।

शुक्रवार कैलाली जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासमा थुनछेक बहस चलेको थियो। साँझ ६ बजे सकिएको बहसपछिको आदेशमा विक र दियाकोटी धरौटी बुझाएर रिहा भइसकेको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले बताए।

प्रहरीले उनीहरूका साथबाट स्थानीय सरकारदेखि केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छाप, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत कैलालीका ४ स्थानीय तह, कैलालीका विभिन्न स्थानमा रहेका मालपोत र नापी कार्यालयका छाप पनि प्रहरीले बरामद गरेको थियो।

त्यस्तै उनीहरूका साथबाट नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, अर्थ मन्त्रालय सिंहदरबार, नेपाल राष्ट्र बैंक शाखा कार्यालय बाँके, गभर्नर डा चिरञ्जीवी नेपाललगायतका नामका ३५ थान छाप बरामद गरिएको थियो। ती कार्यालयसम्बद्ध अधिकांशका नगद रसिद पनि प्रहरीले बरामद गरेको छ।

ती छापहरूको प्रयोग गरी उनले हस्ताक्षर गरिएका विभिन्न बैंकका सक्कली तथा कतिपय नक्कली गरी ३८ वटा खाली चेक र विभिन्न व्यक्तिका नाममा काटिएका २ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरका चेक पनि भेटिएको छ। उनीहरूका साथबाट चार थान पेस्तोल, ७ राउन्ड गोली र एउटा चक्कु समेत प्रहरीले बरामद गरेको थियो।

धनगढीकै विन्देश्वर श्रेष्ठले राणाले आफूबाट २४ करोड ठगेको जाहेरी प्रहरीमा दिएका थिए। त्यसपश्चात् उनीहरू विरुद्ध कैलाली जिल्ला अदालतमा ठगी, सरकारी कागजात किर्ते, हातहतियार खरखजना र सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

यो पनि पढ्नुहोस् :

ठगी गिरोहका नटवरलालको करिष्मा : आफैं स्थानीय सरकार, आफैं गभर्नर अनि आफ्नै घरमा मन्त्रालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell