PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

४ घण्टा लामो सर्वपक्षीय बैठक सकियो : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, समस्या समाधान गर्न कुटनीतिक पहल गर्छौँ



कुञ्जरमणि भट्टराई

४ घण्टा लामो सर्वपक्षीय बैठक सकियो : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो, समस्या समाधान गर्न कुटनीतिक पहल गर्छौँ
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज आफ्नो सरकारी निवास बालुवाटारमा आयोजित सर्वपक्षीय बैठक सकिएको छ। चार घण्टा लामो बैठकमा भारतसँगको सीमा विवाद समाधानका लागि नेपालको कदमबारे छलफल भएको थियो।

बैठक पछि बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएकाले नेपालले समस्या समाधानका लागि त्यसैअनुरुप कुटनीतिक पहल गर्ने बताए। भारतसँगको सीमा विवाद मिलाउन नेपालले सबै संयन्त्र प्रयोग गर्ने पनि उनले जानकारी दिए।

'कुटनीतिक पहलको लागि अब सरकार अगाडि बढ्छ', उनले भने, 'कुन संयन्त्र प्रयोग गरेर समस्या समाधान हुन्छ, हामी त्यसबारे छलफल गर्छौँ। आवश्यक परेको खण्डमा प्रधानमन्त्री स्तरीय वार्ता नै गर्न पनि हामी तयार छौं।'

सीमा विवादको मामलामा नेपाल सानोतिनो झमेलामा नअल्झिने उनले प्रष्ट पारे। सीमा विवाद समाधानका लागि सरकारले तुरुन्त पहल गर्ने उनले बताए।

सीमा मिचिएको विरोधमा देशभर प्रदर्शन भइरहेको सन्दर्भमा परराष्ट्रमन्त्री ज्ञवालीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरे।

त्यस्तै बैठकमा तथ्य र प्रमाणका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन्।

सहभागी पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास नै महत्वपूर्ण विकल्प भएको बताएका हुन्।

पूर्वप्रधानमन्त्री तथा प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी नेपालको हो भन्नेमा दुई मत नभएको भन्दै समस्या वार्ताबाट हल गर्नुपर्ने सुझाव दिएको बताए। 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँगको सीमा विवादको समाधान गर्ने समय यही भएको बताएका छन्। उनले पहिले परराष्ट्रस्तरमा वार्ता भएको र यसले समाधान गर्न नसक्ने देखिएकाले प्रधानमन्त्रीस्तरीय छलफल हुन जरुरी देखिएको आफूले सुझाव दिएको बताए।

भट्टराईले भने, 'परराष्ट्र सचिवस्तरीय आयोग पहिलेदेखि दुबै देशमा थियो। यो समस्या दुबैलाई थाह छ। यसका लागि प्रधानमन्त्रीस्तरीय छलफल हुनुपर्छ। राजनीतिक आयोग बनाउनुपर्छ। मैले यही सुझाव दिए।'

यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले नेपाली सीमा मिचिएको विषयमा सबै राजनीतिक दल र सरोकार भएका सबैले एकमतले विरोध गर्नुपर्ने बताए। उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका स्थान नेपालको नै भएकामा कुनै दुविधा नरहेको भन्दै सरकारले सबै पक्षसँग संवाद गरेर साझा धारणा बनाउन गरेको प्रयास सकारात्मक भएको उल्लेख गरे।

नेपाली नागरिकले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको स्थानको मालपोत तिरेको, ती स्थानमा जनगणनासमेत भएको आधारमा पनि ती भूमि नेपालको रहेकामा कुनै दुविधा नभएको भन्दै पूर्वपरराष्ट्रमन्त्री थापाले सीमा समस्यालाई प्रभावकारी र प्राथमिकता दिएर समाधान गर्न सरकारलाई सुझाव दिए। उनले दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई सक्रिय बनाउन पनि आग्रह गरे।

पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले तथ्य र प्रमाणका आधारमा नेपालले आफ्नो भूमिको रक्षाका लागि कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको बताए। उनले राष्ट्रियताको विषयमा सबै दल एकै ठाउँमा उभिनुपर्नेमा सबैको मतैक्य रहेको भन्दै सरकारले सो विषयमा सार्थक पहल गरोस् भन्ने आफ्नो सुझाव रहेको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता भीमबहादुर रावलको सहभागिता थियो।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कमल थापालगायत सहभागी छन्।

सर्वदलीय बैठकको प्रारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फीरूपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताए। उनले सर्वदलीय बैठक आयोजना गर्नुको विषयमा प्रष्ट पार्दै सीमालगायतका विषयमा साझा धारणा बनाउनु पर्ने आवश्यकता औँल्याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell