
स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले सेल्टालाई हराएको छ। लियोनेल मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले जित निकालेको हो।
मेस्सीले खेलको २३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, ४२ औं मिनेटमा सेल्टाका लागि गोल गर्दै ओल्जाले खेल बराबरीमा ल्याए। पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल थप्दा बार्सिलोनाले फेरि अग्रता लियो। पहिलो हाफमा बार्सिलोना २–१ ले अगाडि रह्यो।
दोस्रो हाफमा पनि मेस्सीले नै फेरि अर्को गोल थपे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। र, ८५ औं मिनेटमा बुस्क्वेटले गोल थप्दा बार्सिलोनाले ४–१ ले खेल आफ्नो पक्षमा पार्यो।
त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले इबरमाथि ४–० को जित निकाल्यो। मड्रिडको जितमा बेन्जेमाले २ गोल तथा रामोस र भ्यालभर्डेले समान १/१ गोल गरे।
रियलले १७ मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। २० औं मिनेटमा रामोसले पेनाल्टी मार्फत अर्को गोल थपे। फेरि, २९ औं मिनेटमा बेन्जेमाले पेनाल्टी मार्फत गोल थप्दा रियल पहिलो हाफमा ३–० ले अगाडि रह्यो। दोस्रो हाफमा फेरि रियलका लागि भ्यालभर्डेले गोल थप्दा रियलले ४–० को जित निकाल्न सफल भयो। उनले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए।
गएराति भएको खेलसँगै समान २५ अंक बनाएका बार्सिलोना र रियल मड्रिड अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।