PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाल VS कुवेत विश्वकप छनोट : 'होम ग्राउन्ड' खोसिएपछि भुटानमा खेलाउने दाउमा एन्फा, खाडीमै तान्ने प्रयासमा कुवेत



मुकुन्द घिमिरे

नेपाल VS कुवेत विश्वकप छनोट : 'होम ग्राउन्ड' खोसिएपछि भुटानमा खेलाउने दाउमा एन्फा, खाडीमै तान्ने प्रयासमा कुवेत

काठमाडौं: 'नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामै हुन्छ,' यो आश्वासन नेपाली खेलकुदको उच्च तहबाट पटकपटक आएको थियो।

दशरथ रंगशालाको पूर्वाधार तयारी नभएकोले धेरैतिरबाट प्रश्न सोधिएपछि यो आश्वासन आएको थियो।

यसका लागि अन्तिम समयमा आएर तयारी पनि तीब्र पारियो। तर, पूर्वाधार निर्माण भइनसकेकै कारण नेपालले विश्वकप क्वालिफायर्सको 'होम गेम' गृहमैदान दशरथ रंगशालामा खेलाउन सकेन।

एसियन फुटबल कन्फिडरेसन(एएफसी) को निर्देशन आउनसाथ नेपाल पछि हट्यो र भुटानमा खेल गराउन प्रस्ताव गर्‍यो। तर, कुवेत यसमा पनि सकारात्मक देखिएन। कुवेतले भुटानबाट पनि खेल सार्न लबिङ गरेको छ।

कुवेत फुटबल एसोसिएनले शनिवार फेसबुकमार्फत कुवेत फुटबल एसोसिएसनका अध्यक्ष शेख अहमेद अल युसुफले एसियन फुटबल फेडेरेसनका अध्यक्ष शेख सलमान बिन इब्राहिम बिन खलिफासँग भेट गर्दै नेपालसँगको खेलबारे छलफल गरिएको जनाएको छ।

'अल युसुफले कतार र ओमनका फुटबल अफिसियलहरुलाई सहकार्यको लागि धन्यबाद दिए। तर, नेपाल फुटबल एसोसिएसनका अफिसियलहरु भने भुटानमै खेल गराउन अझै दृढ छन्,' कुवेत फुटबल एसोसिएसनले लेखेको छ।

कुवेत फुटबल एसोसिएसनले भिषा प्रकृया, अफिसियलहरुको बासस्थान, अभ्यासजस्ता कारण देखाउदै एएफसीसँग भुटानबाट पनि खेल सार्न लबिङ गरेको जनाइएको छ।

यता एन्फाले भने नेपालसँग भुटानको वातावरणसँग मिल्दोजुल्दो  भएकाले नेपालको विकल्पमा भुटानमा म्याच हुनुपर्ने बताउँदै आएको छ। एन्फा स्रोतका अनुसार कुवेतले खाडीमुलुकमै खेल गराउन एएफसीसँग लबिङ गरिरहेको छ। यता नेपालले भने 'होम गेम'का लागि दशरथ रंगशाला तयार नभएपछि 'न्युट्रल भेन्यु'का रुपमा भुटान उपयुक्त हुने बताउँदै आएको छ।

तर, कुवेतको भुटानमा समेत खेल्न नसकिने भन्दै एएफसीसँग लबिङ गरेपछि भने नेपालले कुनै अन्य निर्णय नगरेको एन्फाका प्रवक्ता किरण राईले पहिलो पोस्टलाई बताए।

'कुवेतले भुटानबाट पनि खेल सार्नुपर्छ भनि रहेको छ, हामीले चाहीँ नसार्ने भनेर पहल गरिरहेका छौं। आज भोलि/बैठक बसेर हामी टुङ्ग्याउँछौं,' एन्फा प्रवक्ता राईले भने, 'हामी चाहीँ भुटानमै खेल हुनुपर्छ भन्ने पक्षमा छौं।'

यसले गर्दा नजिकिँदै गरेको कुवेत र नेपालबीचको खेल कहाँ हुने भन्नेमा थप अन्योल थपिएको छ।

त्यसो त यस अघि पनि नेपालमा रंगशाला निर्माण भइनसकेकाले विश्वकप छनोटका खेलहरुमा पहिला 'अवे गेम' खेलेर पछि 'होम गेम' खेल्ने प्रस्ताव नेपालले गरेको थियो। त्यस अन्य देशहरुले स्वीकार गरेपछि नेपालले पहिला 'अवे गेम' खेलेको थियो।

नेपालले 'अवे गेम' का ४ खेल खेलिसकेको छ। जसमा ३ खेलमा हार र १ खेलमा  जित निकालेको थियो। नेपालले चाइनिज ताइपेईसँग २–० को जित बाहेक अरु टिमसँग पराजय भोगेको थियो।

त्यस्तै कुवेतले समूहमा ३ खेल खेलेको छ जसमा १ जित, १ हार र १ बराबरी खेलेको छ। कुवेतले उसको 'होम गेम'मा नेपाललाई ७–० ले पराजित गरेको थियो। कुवेत ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने नेपाल तीन अंकसहित चौथो स्थानमा छ। समूहको शीर्षस्थानमा भने ९ अंकसहित ३ खेलमा शत प्रतिशत जित निकालेको अस्ट्रेलिया छ। दोस्रो स्थानमा ७ अंक सहित जोर्डन छ। त्यस्तै ३ खेलखेलेर जितविहीन रहेको चाइनिज ताइपेइ तालिकाको पुछारमा छ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बी 'मा' छ। समूह 'बी' मा नेपालसहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ रहेका छन्। अवे गेम खेलिसकेको नेपालले अब होम गेम खेल्न बाँकी छ। नेपालले ४ खेल खेलिसक्दा अन्य टिमले भने समान ३ खेल खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell