PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा सचिवालय बैठकः पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने 



पहिलोपोस्ट

नेकपा सचिवालय बैठकः पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने 

काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। सोमबार बिहान ९ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा रहेको बताइएको छ।

सचिवालयका एक सदस्यले पार्टीको सांगठानिक एकताको बाँकी काम मुख्य एजेण्डा भएको बताए। मन्त्रिपरिषद् पुनर्गठनबारे गृहकार्य भइरहे पनि सचिवालय सदस्यहरुलाई यो विषयमा कुनै जानकारी नदिइएको उनले बताए। 

उनले भने, ‘जानकारी भएसम्म सांगठानिक एकताका काम टुंग्याउने नै मुख्य एजेण्डा हुन्। मन्त्री हेरफेरबारे दुई अध्यक्षबीच भएका कुराकानी सम्भवतः ब्रिफिङसम्म होला। अध्यक्षले टुंगो नै लगाएको भए पनि सचिवालयले रायसम्म दिने हो। यसबारेमा औपचारिक रुपमा हामीलाई जानकारी दिइएको छैन।’ 

सचिवालय बैठकअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाबीच छलफल समेत भएको थियो। छलफलमा पार्टी एकीकरणका बाँकी कामको टुंगो लगाउने तथा मन्त्रिपरिषद् हेरफेरका विषयमा कुराकानी भएको थियो। सचिवालय बैठकले स्थायी समिति बैठक आह्वान गर्नेबारे पनि छलफल गर्नेछ। 

नेकपाको सांगठानिक एकीकरणका केही काम अझै बाँकी छन्। विभिन्न आयोगहरुको गठनका काम अझै सकिएका छैनन्। विभागको नेतृत्व र सदस्यहरुको पनि चयन भइसकेको छैन। 

यस्तै, पछिल्ला दिनमा मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि दुई अध्यक्षबीच प्रसस्त परामर्श र गृहकार्य भइरहेको छ। उपनिर्वाचनपछि मन्त्री फेरबदल हुने भनिए पनि हालै प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयका सदस्यहरुको राजीनामा आएपछि उक्त बहस थप चुलिएको छ। आइतबार दुई अध्यक्षबीचको छलफलमा मन्त्री फेरबदको विषय प्रवेश पाए पनि निश्चित भइसकेको छैन। 

तर, दुई अध्यक्षबीच केही मन्त्रीबाहेक अन्यका स्थानमा नयाँलाई प्राथमिकता दिनेमा भने यसअघि नै सहमति भइसकेको छ। प्रधानमन्त्री ओलीले समेत कार्यसम्पादन सुधार हुन नसकेका मन्त्रीहरु हेरफेर हुने संकेत पटक पटक गरिसकेका छन्। प्रचण्डले मन्त्री फेरबदल प्रधानमन्त्रीको विशेषाधिकार भन्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell