PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाली फुटबल : युवा टोलीको प्रदर्शन खस्कँदो, समीक्षा खै?



मुकुन्द घिमिरे

नेपाली फुटबल : युवा टोलीको प्रदर्शन खस्कँदो, समीक्षा खै?
फोटो: ताजकिस्तान फुटबल फेडेरेसन

काठमाडौं: दक्षिण एसियाली खेलकुद तथा एएफसीका विभिन्न उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै आएको छ। कुनै प्रतियोगितामा फाइनलसम्म पुगेको नेपाल अधिकांश प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ।

आइतबारमात्र इरानमा सम्पन्न एएफसी यू १९ च्याम्पियनसिपको समूह चरणमा नेपालले कीर्गिस्तानसँग बराबरी खेल्यो। प्रतियोगितामा बाँकी सबै खेल गुमाएको नेपालले अन्तिम खेलमा भने बराबरीसम्म रोक्न सफल भयो। यत्तिकैमा चित्त बुझायो नेपाली टोलीले।

अरु टोलीको प्रदर्शन कस्तो छ त?

एएफसी यू १९ मा युएई र इरान दुबैसँग समान ४–० ले पराजित भयो। 'दुबै टिम फिफा वरीयतामा नेपाल भन्दा धेरै अगाडि रहेका छन्,' हारमा चित्त बुझाउने एउटा कारण यो पनि हुन सक्ला।

तर, भोलि दिनमा सफल बन्ने बाटो भने यो खेलले पक्कै पनि खोलिदिएको छैन। किन भने  आजको युवा टिम नै हो भोलि सिनियर टिममा पुग्ने। त्यसैले युवा टिमले गर्दै गरेको प्रदर्शनले पक्कै पनि कुनै न कुनै रुपमा खेलकुदको भविष्यलाई प्रभावित गर्छ नै। युवा समूहमा नेपालको प्रदर्शन सन्तोषजनक भएन भन्ने पनि हैन तर बलिया देशहरुसँग नै भए पनि नेपालले युवा समूहमा ब्यहोरेको हारले नेपाली फुटबलको भविष्य कस्तो होला भन्ने अनुमान त सजिलै गर्न सकिन्छ नै।

गएको भदौ महिनामा भएको साफ यू १५ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्दै फाइनलसम्म त पुग्यो तर फाइनलमा पुगेपछि भने लज्जास्पद हार ब्यहोर्‍यो। भारतको कल्याणीमा भएको उक्त प्रतियोगितामा नेपालले फाइनलमा भारतसँग ७–० को पराजय भोगेको थियो। त्यतिबेला फाइनलमा नेपालको प्रदर्शनलाई लिएर आलोचनासमेत भएको थियो।

लगातार ओरालो, छैन समीक्षा

म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली यू २३ टोलीलाई बिदाई गर्न जाँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपालमै भएको साफ यू १८ मा हारको समीक्षा गर्नु पर्ने औंल्याएका थिए। हुन पनि २ पटकको विजेता नेपाल घरेलु मैदानमा समूह चरणबाटै बाहिरिँदा ह्याट्रिकको सपना मात्र बिग्रिएको थिएन कमजोर ठान्ने गरेका टिमहरु कसरी सुधार गरे भन्ने पनि देखिएको थियो। साफ यू १८ मा माल्दिभ्ससँग बराबरी खेलेको नेपाल भुटानसँग पराजित हुदै बाहिरिएको थियो।

त्यसो त साफ यू १८ मा हारपछि प्रशिक्षक चेतनारायण श्रेष्ठले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए। घरेलु मैदानमा खेल भएको हुँदा साफ यू १८ मा बढी प्रेसर भयो तर अरु यूवा समूहमा पनि अवस्था खास फरक भने छैन।

गएको असोजमा एएफसी यू १६ मा सहभागी हुन नेपाल जोर्डन गएको थियो। त्यहाँ श्रीलंकालाई हराएको नेपालले जोर्डन र ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो। त्यस्तै कुवेतलाई १–१ को बराबरीमा रोकेको थियो। यसरी समग्रमा हेर्दा एन्फाको नीति बमोजिम ग्रासरुटबाटै फुटबलको सुधार हुन नसकेको हो या नेपालको फुटबल विकासको रफ्तार अरु देशको भन्दा कम भएको हो भन्ने देखाएको छ।

अब दक्षिण एसियाली खेलकुद साग नजिकिँदै गएको छ। यसका लागि नेपालले स्वर्ण ल्याउने लक्ष्यका साथ अभ्यासमा जुटेको छ नेपाली यू २३ टिम। केही समय अघि फिफा वरीयतामा नेपालभन्दा अघि रहेको म्यानमारलाई बराबरीमा रोकेको नेपाल एकहदसम्म आत्मविश्वासी पनि छ। डिफेन्डङ च्याम्पियन नेपाल घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै फेरि पनि साफ जित्ने तरखरमा देखिन्छ।

ग्रासरुटबाट फुटबल सुधार्न भनेर अखिल नेपाल संघ एन्फा लागि परेको छ तर, बिडम्वना यो छ कि नेपालको युवा समूहको प्रदर्शन नै सन्तोषजनक देखिँदैन।

फुटबलको स्तर खस्किएकै हो त?

नेपाली खेलाडीको प्रदर्शनलाई नजिकबाट नियालिरहेका राष्ट्रिय खेलकुद परिषद्का मुख्य फुटबल प्रशिक्षक मिलन हाडा युवा खेलाडीमा जुन स्वभाव देखिनु पर्ने हो, त्यो स्वभाव नदेखिएको बताउँछन्। ‘भर्खर मोटरसाइकल कुदाउन थालेको युवाले र बीसौं वर्षदेखि मोटरसाइकल कुदाइ रहेको मान्छेमा के फरक हुन्छ? हो मैले यही स्वभावको कुरा गरेको हो,’ उनले भने। यद्यपि नेपाली युवा टोलीको प्रदर्शन डराइहाल्नु पर्ने गरी नखस्किएको उनको भनाई छ।

दक्षिण एसियाली खेलकुदका लागि नेपाली यू १९ लाई प्रशिक्षणमा व्यस्त प्रशिक्षक बालगोपाल महर्जन पनि  कमजोरी भएको स्विकार्छन्। महर्जनको जोड भने खेलाडीलाई मैत्रीपूर्ण खेल खेलाउनु पर्नेमा छ। महर्जनले केही समयअघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न जानुअघि साफ यू १८ लाई लक्षित गर्दै भनेका थिए, 'आफूले राम्रो तयारी गर्दै अरु देशले कस्तो तयारी गरिरहेको छ भनेर हेर्नु पर्ने हो। कति फ्रेन्डली म्याच खेलिरहेको छ। उनीहरु कतिको मेन्टली तयार छ। कतिको टिम सेट छ भन्ने हेर्ने हो।'

महर्जनले आफू युवासमूहको प्रशिक्षक हुँदाको समय स्मरण गर्दै मैत्रीपूर्ण खेलले खेलाडीलाई मनोवैज्ञानिक रुपमा तयार पार्न भूमिका खेल्ने आफूले पाएको बताए।

'मैले युवा समूह हेर्दा मैत्रीपूर्ण खेलमा जोड दिएको थिएँ। राम्रो प्रदर्शन गर्दै उज्बेकिस्तानजस्ता देशहरुलाई पनि जित्न सफल रह्यौ,' महर्जनले आफू युवासमूहमा प्रशिक्षक हुँदाको समय स्मरण गर्दै भने, 'किनभन्दा कोरिया, बेल्जियम जस्ता देशहरुसँग पनि मैत्रीपूर्ण खेल खेल्यौं। जसले ठूलो देशहरु, ठूलो लेभलमा खेल्दा खेलाडीमा एउटा आत्मबल हुन्छ। मोटिभेट हुन्छन्। यस्ता चिजहरुको फुटबलमा ठूलो महत्व हुन्छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell