PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नक्कली भ्याट बिल प्रयोग गरी लाखौँ कर छल्ने व्यापारी जेल चलान



राधेश्याम पटेल

नक्कली भ्याट बिल प्रयोग गरी लाखौँ कर छल्ने व्यापारी जेल चलान

वीरगंज : आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ। ग्याँसको सिलिन्डिरको पार्टपूर्जा सम्बन्धी कारोबार गर्ने वीरगंज–२१ परवानीपुर घर भएका वीरगंज, माईस्थानस्थित श्रीजानकी ट्रेडर्सका सञ्चालक दिपेन्द्र पासवानलाई नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आरोपमा माग गरिएको कर बुझाउन नसक्दा जेल चलान गरिएको हो।

आन्तरिक राजस्व कार्यालय वीरगंजको अनुसन्धानमा उक्त फर्मले आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ मा विभिन्न ४ वटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर कर छलेको कार्यालयले जनाएको छ। त्यस्तै आव २०७१/०७२ र २०७२/०७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर सो खरिदलाई पुष्टि गर्ने कुनै बिजक प्रमाण नै पेश गर्न नसकेकोले झुट्ठा विवरण पेश गरी कर छली गरेको पाइएको हो।

२०७१ देखि ०७६ सम्मको कारोबारको अनुसन्धानबाट उनलाई ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ कर, जरिवाना रुकम ४४ लाख ३० लाख ५ सय २५ रुपैयाँ र दस्तुर १० लाख ७७ हजार ७ सय ९३ रुपैयाँ र ब्याज १६ लाख १२ हजार ७ सय ८५ रुपैयाँ गरी कुल १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ काम गरेका थियो। पासवानले सो रकम दिन अस्वीकार गरेपछि उनलाई जेल चलान गरिएको कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए।

साथै, बार्षिक रुपमा आय विवरण पेश गर्दा सो नक्कली बिल खर्च दाबी गरी आयकर समेत छलेकोले आयकर शुल्क ब्याज आयकर तर्फ समेत गरी करिब २ करोड २० लाख आयकर समेत निर्धारण हुने कर कार्यालयले जनाएको छ।

भ्याट प्रणालीमा उद्योगी व्यापारीले आफूले मालसमान वा सेवा बिक्री गर्दा १३ प्रतिशत भ्याटको रकम खरिदकर्ता वा उपभोक्ताबाट लिन्छन्। तर त्यो लिएको भ्याटको पैसा आफूले त्यो अवधिमा समान खरिद गरेको भए सो समानको भ्याट घटाउन पाउने नियम छ। यसरी व्यापारीले आफूले बिक्री गर्दा उठाएको कर खाली गर्न विभिन्न प्रपञ्च रच्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell