PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कास्की उपनिर्वाचनको ‘ग्राउण्ड रियालिटी’: मतदाता सोध्छन्, फेरि के को चुनाव? दलहरु भन्छन्, अब बुझाउँछौँ



विष्णु गौतम

कास्की उपनिर्वाचनको ‘ग्राउण्ड रियालिटी’: मतदाता सोध्छन्, फेरि के को चुनाव? दलहरु भन्छन्, अब बुझाउँछौँ

पोखरा: पोखरा महानगरपालिका ४ स्थित गणेशटोलमा ने क पाका उम्मेदवार विद्या भट्टराईसहितको टोलीले मतदातासँग भोट मागिरहेको थियो। बिहानको घाम ताप्दै बसेकी एक ८२ वर्षीया वृद्धासँग उम्मेदवार विद्याले आशीर्वाद दिनुस् भन्दै शीर निहुर्‍याइन्।

उनले भनिन, 'मनले चिताएको पुगोस्।'

उनीहरु फर्किएपछि वृद्धा नन्द कोइरालालाई किन आशीर्वाद दिएको आमा भनेर सोध्दा जवाफमा भनिन्, 'खै आशीर्वाद मागे, मैले दिएँ। अरु त के थाहा?'

उत्सुक हुँदै सोध्दै थिइन्, 'साँच्ची बाबु के हो र?' मैले उनको उत्सुकता मेटाउने कोसिसमा उत्तर दिएँ, “चुनाव हुँदैछ त्यही भएर भोट माग्न आएका।'

उत्सुकता अझ थपियो, 'चुनाव त अस्ती भर्खर भएको होइन र फेरि के को चुनाव हो?'

भोट मागे तर उनलाई केको र कहिले चुनाव भन्ने थाहा छैन।

उनी मात्रै होइन गैडापाटन निवासी ८३ वर्षीया आनन्द कोइरालाले पनि त्यही कुराको गुनासो गरिन्।

उनले भनिन्, 'आए आशीर्वाद मागे तर किन र के कुराको लागि हो भन्दै नभनी हिँडे।'

दुई दिन अगाडि मात्रै साझा पार्टीले पनि भोट मागेको थियो। त्यतिबेला पनि चुनावबारे कुनै जानकारी दिइएको रहेनछ।

सोहि वडामा एक दिन अगाडि मात्रै नेपाली कांग्रेसले पनि मत मागिसेकेको छ तर जेष्ठ नागरिकहरुमा एउटै उत्सुकता छ किन चुनाव हुँदैछ फेरि?

अहिले कास्की २ मा चुनाव लागेको छ। जति पनि उम्मेदवार आएका छन् सबैले आफ्ना लागि मत मागेका छन्। तर कहिले र के हुँदै हो? किन चुनाव हुन लागेको हो? भन्ने कुनै पनि पक्षले जानकारी दिएका छैनन्।

मंसिर १४ गते हुने उपनिवार्चन आउन अब १८ दिन मात्रै बाँकी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाका आधारमा अहिले उम्मेद्वारी दर्ता गराएका २१ जना नै आफ्नो पक्षमा मत माग्न बिहान झिसमिसेदेखि घाम नअस्ताउन्जेलसम्म लाग्ने गरेका छन्। अधिकांश दलहरुले आजसम्म दुईदेखि चारवटासम्म वडाहरुमा मत माग्ने काम सकेका छन्। निर्वाचन क्षेत्रमा पर्ने अन्य वडाहरुमा पनि घरदैलोको अभियान चलाउने तालिका अनुसार मत फकाउने करसतमा लागिपरेका देखिन्छन्।

ने क पा कास्कीका अध्यक्ष कृष्ण थापा सबै उमेर समूहका मतदातालाई सबै कुराको जानकारी दिनुपर्ने धारणा राख्दै समस्या भए सुधारेर अगाडि बढ्ने प्रतिवद्धता जनाउँछन्।

उनी भन्छन्, 'हामीले सम्भव भएसम्म सबैलाई उपनिर्वाचनबारेमा जानकारी दिने गरेका छौँ। कतै छुटेको भएमा सुधारेर अगाडि बढ्नेछौँ।'

नेपाली कांग्रेस कास्कीका प्रचार-प्रसार संयोजक नवीन सिग्देल उपनिर्वाचनबारे सबैलाई राम्रोसँग बुझाउन नसकेको स्वीकार गर्छन्। सिग्देल भन्छन्, 'कसैले सोधेमा हामीले सबै कुरा भनेका छौँ तर कुनै मतदाताले नसोधेको अवस्थामा हामीले भनेका छैनौँ।'

ज्येष्ठ नागरिकहरुमा पूर्ण जानकारीको समस्या हुन सक्ने भएकाले त्यस्ता गल्तीलाई अन्य वडाहरुमा सुधार्ने उनी बताउँछन्।

आफूलाई वैकल्पिक राजनीति भन्न रुचाउने साझा पार्टी पनि मतदातालाई उपनिर्वाचनबारे जानकारी दिन चुकेको छ।

साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनालले भन्छन्, 'हामी कास्कीका कतिपय मतदातासँग नयाँ छौँ। त्यसैले पहिलो चरणमा हामीले तराजु र साझा चिनाउँदै हिँडेका छौँ, दोस्रो चरणमा अर्को टिमले मतदाता शिक्षाका बारेमा सबै कुरा भन्दै आउँछ।'

यता निर्वाचन कार्यालय कास्कीले पनि एक हप्ताको मतदाता शिक्षा दिने तयारी गरेको जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिएका छन्।

'हामी सबै मतदाताको घरघरमा त मतदाता शिक्षा दिन नसकौँला तर टोल-टोलमा एक हप्ताको अभियान चलाउछौँ,' उनले भने।

प्रत्येक वडामा २ जना कर्मचारीहरु खटाएर पोष्टर, पम्प्लेट र अन्य तरिकाबाट पनि मतदाता शिक्षा दिने उनको भनाइ छ।

चुनावमा मतदाहरुको मतको सम्मान होला कि नहोला, अनि उनीहरुले इच्छाएको व्यक्तिलाई मत जाला कि नजाला अहिलेको निर्वाचन कार्यालय र राजनीतिक दलको मत माग्ने शैलीले यसै भन्न नसकिने अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell