
काठमाडौँः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा ३ ख ७०८७ नम्बरको टिपर र बा १० च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका ९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ।
सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन्। उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिस गरिएको प्रहरीले जनाएको छ। रासस