PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अस्ट्रेलिया र क्यानडाको केराउ नेपाल हुँदै भारत तस्करी, दोब्बरले बढ्यो आयात



राधेश्याम पटेल

अस्ट्रेलिया र क्यानडाको केराउ नेपाल हुँदै भारत तस्करी, दोब्बरले बढ्यो आयात

वीरगंज : तेस्रो मुलुकबाट ठूलो परिमाणमा केराउ आयात गरी भारततर्फ तस्करी हुने क्रम बढेको छ। सुक्खा सेतो र हरियो रंगको केराउ आयातमा नेपाल सरकारले राजस्व दरबन्दी न्यून राखेपछि यसको तस्करी गर्ने क्रम बढेको हो।

कृषिजन्य तथा खद्यान्न सामग्री भन्दै सरकारले केराउमा १५ प्रतिशत मात्र भन्सार महसूल लिने गरेको छ। त्यसकारण यसको आयातमा ब्यापाक वृद्धि भएको देखिन्छ। गत आर्थिक वर्षको पहिलो साढे ३ महिनाको अवधी र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक १५ सम्मको तथ्यांक अनुसार केराउको आयात दोब्बरले वृद्धि भएको श्रीर्सिया सुक्खा बन्दरगाहले जनाएको छ।

तराईका सीमा क्षेत्रमा नेपालबाट भारततर्फ मरिच, केराउ र छोकडा विशेषगरी तस्करी गरिएको हो। नेपालबाट भारतमा महँगोमा ती समान बिक्री हुने भएकोले तेस्रो मुलुकबाट ती समान मगाएर भारत पुर्‍याउने गरिएको हो।

अस्ट्रेलिया र क्यानडाबाट जहाजबाट आउने केराउ कोलकाता हुँदै वीरगंज श्रीसिया सुक्खा बन्दरगाहमा आइपुग्छ भने वीरगंजबाट बारा, पर्सासँगै तराईका विभिन्न जिल्लाको ग्रामिण नाका भएर यी सामानहरु भारत तस्करी गर्ने ठूलो गिरोह यस कार्यमा सक्रिय रहेको सुरुक्षा अधिकारीहरु बताउँछन्।

श्रीसिया सुक्खा बन्दरगाहको तथ्यांक अनुसार मरिचको आयात गत वर्षभन्दा केही मात्रामा घटे तापनि केराउ र छोकडाको आयात अस्वभाविक रुपले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि कात्तिक १५ सम्म वीरगंजका विभिन्न फर्महरुले ७ करोड ७ लाख ६१ हजार रुपैयाँ राजस्व तिरेर १ अर्ब २४ करोड ३६ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको ३ करोड ८ हजार ९ सय ८९ केजी केराउ आयात गरेका थिए। चालू आवको सोही अवधिमा १९ करोड ८३ लाख ७ हजार राजस्व तिरेर २ अर्ब ४८ करोड १ लाख २२ हजार मूल्य बराबरको ६ करोड ३ लाख ३४ हजार २६४ केजी केराउ आयात गरिएको छ।

गत वर्ष ४१.३३ रुपैयाँ प्रतिकेजीको दरमा केराउ खरीद गरी आयात गरिएको थियो भने यस वर्ष ४१ रुपैयाँको हाराहारीमा खरीद गरिएको छ। गत वर्षभन्दा चालू आवको कात्तिक १५ सम्म १ अर्ब २३ करोड रुपैयाँका बढी केराउ आयात भएको छ।

त्यसैगरी ८० रुपैयाँ प्रतिकेजीको छोकडा गत आवको साउनदेखि कात्तिक १५ सम्म करिव ३२ करोडभन्दा बढी मूल्य बराबरको मात्रामा नेपाल भित्रिएको श्रीसिया सुक्खा बन्दरगाहका सूचना अधिकारी विकाश कुमारले जानकारी दिए। गत आवमा ९६ लाख ५९ हजार रुपैयाँ राजस्व तिरेर ३ करोड ६५ लाख ६७ हजार मूल्य बराबरको ४ लाख ६५ हजार ६९५ केजी छोकडा आयात भएको थियो भने चालू आवको साउनदेखि कात्तिक १५ सम्म ८ करोड ८ लाख ८२ हजार रुपैयाँ राजस्व तिरेर ३५ करोड २७ लाख ३६ हजार मूल्य बराबरको ४३ लाख ७९ हजार ४० केजी छोकडा आयात भएको छ।

यसैबीच मरिचको आयात गत आवको साढे तीन महिनाभन्दा यस आवको साढे तीन महिनामा करिव १२ करोडले घटेको देखिएको छ। नेपाल सरकारले पहिले मरिच आयातमा १० प्रतिशत भन्सार महसुल राखेकोले आयात बढेको थियो। अहिले भन्सार महसूल १० बाट २० प्रतिशत बढाइएको र भ्याट १३ प्रतिशत लिने भएकोले मरिचको आयात घटेको हुनसक्ने भन्सार अधिकारीको अनुमान छ।

चालू आवको साढे तीन महिनामा २० करोड २६ लाख ५ हजार रुपैयाँ राजस्व तिरेर ६१ करोड २५ लाख ७६ हजार मूल्य बराबरको १४ लाख ९९ हजार ८४० केजी मरिच आयात भएको छ। गत आवको पहिलो साढे तीन महिनामा १५ करोड ३६ लाख ४ हजार ३१४ रुपैयाँ राजस्व तिरेर ७३ करोड २७ लाख २९ हजार मूल्य बराबरको १७ लाख ३६ हजार ३८४ किलो मरिच आयात भएको थियो।

मरिच विशेषगरी भियतनामबाट आउँछ भने छोकडा पाकिस्तानबाट आयात हुन्छ। छोकडाको आयातमा १० प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लागे तापनि नेपालबाट भारतमा गएपछि ८० रुपैयाँको छोकडा १ सय रुपैयाँभन्दा बढिमा बिक्री हुने भएकोले पाकिस्तानी छोकडा नेपालको नाका हुँदै भारत तस्करी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell