PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एउटै बोकाको मूल्य तीन लाख, माग पुर्‍याउन किसानलाई धौ-धौ



रासस

एउटै बोकाको मूल्य तीन लाख, माग पुर्‍याउन किसानलाई धौ-धौ
फोटो : रासस।

बेनी : एउटै बोकाको मूल्य करिव तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई दुई लाख ९० रुपैयाँ हजारमा बिक्री गरेका छन्।

बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताएका छन्।

उनले सञ्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको सो बोका दुई लाख ९० हजार रुपैयाँ खर्चिएर खरीद गरेको जानकारी दिए। रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस बोयर जातका बाख्रा छन्। स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अस्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरी ल्याएका थिए। विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई एक लाखदेखि दुई लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए।

अहिले उक्त जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्‍याउन कठिन भएको उनले जानकारी दिए। छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका हुन्। सामान्यतया छ महिनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ। किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन्।

सन् १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक बृद्धि, तौल बृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell