PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खोरमा पर्‍यो बालबालिका खाने चितुवा



रासस

खोरमा पर्‍यो बालबालिका खाने चितुवा
फोटो : रासस।

दमौली : तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जंगलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ। भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा परेको हो।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए।

'खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ,' उनले भने।

उक्त नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ बालबालिकाले ज्यान गुमाएका छन्। गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो। काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन। भानुका जंगलमा थुप्रै संख्यामा चितुवा रहेका अनुमान गरिएको छ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जंगलमा राखिएका छन्। चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन्। कोषका विज्ञ डा नरेश सुवेदीले भानुका जंगलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या रहेको छ। सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ। जंगलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell