PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्वीटरमा कास्की-२ का उम्मेद्वार पौडेलको १७ वर्षे जोश : तर, खेमराज भन्छन्, 'खै मलाई त चलाउन पनि आउँदैन'



पहिलोपोस्ट

ट्वीटरमा कास्की-२ का उम्मेद्वार पौडेलको १७ वर्षे जोश : तर, खेमराज भन्छन्, 'खै मलाई त चलाउन पनि आउँदैन'

काठमाडौं : कास्की निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेल सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा देखिएका छन्। एकहप्ता अघि फेसबुकमा एकाउन्ट बनाएका उनले चुनावी प्रचारका क्रममा सोमबार ट्वीटर ह्यान्डल @nckhemrajpaudel मा पनि देखिएका छन्।

फेसबुकमा उनको व्यक्तिगत कुनै पोस्ट देखिएको छैन। यता ट्वीटरमा भने उनी आक्रमक रुपमा देखिएका छन्।

पहिलो ट्वीटमै ८० जना बढीले प्रतिक्रिया जनाएका छन्। पहिलो ट्वीटमा पौडेलले लेखेका छन्, '७० को उमेरमा १७ को जोशका साथ मैदानमा आएको छु! यो उमेरमा जिन्दगीको पहिलो ट्वीटका साथ कास्कीका मतदातासँगै देशभरिका दिदिबहिनी दाजुभाइमा जय नेपालको क्रान्तिकारी अभिवादन व्यक्त गर्दछुl'

 

यो ट्वीटमा अहिलेसम्म ८७ जनाले रिप्लाइ गरिसकेका छन्। ती रिप्लाइ आलोचक र समर्थक दुबैको बराबरी देखिएको छ। लेखक डा रामेश कोइरालाले व्यङ्ग्य गर्दै भनेका छन्, 'यो चालाले त पचासवर्षे कांग्रेसी जति प्रसुतीगृहमा भेटिने भए है? फ्याँक्नु त फ्याँक्नु, तर यति टाढा पनि नफ्याँक्नु कि लिन जान जीन्दगी नै नबचोस्!'

कोइरालाको व्यङ्ग्यप्रति लक्षित गर्दै तारा गौतम नामको ह्यान्डलबाट लेखिएको छ, 'मिर्गौला नभएकाले हस्पिटलबाट म फिट छु भनेर देश चलाएका छन्, झन वहाँ त भोट माग्दै भासण गर्दै हिड्नु भएको छ। तेति त भन्ने हक भैहाल्यो नि।' 

यसो त उक्त ट्वीटमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समाचारको लिंकसमेत रिप्लाइ गरेका छन्।

आज पनि पौडेलले ट्वीट गर्दै कालापानीको लालपूर्जा हाम्रै नाममा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। उनले भनेका छन्, 'प्रधानमन्त्रीलाई आग्रह- हाम्रो कालापानीको लालपुर्जा हाम्रै नाममा ल्याउनुपर्छl कांग्रेस लगायत सारा दलले साथ दिएका छन्। तपाईं के गर्दै हुनुन्छ? मेरो जोश अलिकति सापटी लानोस्, अनि दिल्लीसँग प्रष्ट राख्नोस् नेपाली दिलमा रहेको कुराl'

 

दुवै ट्वीटमा उनले चलाएको यो एकाउन्ट फेक अथवा प्यारोडी भनेर केहीले प्रश्नसमेत गरेका छन्। 

के यो एकाउन्ट उनैको हो त? 

प्रधानमन्त्रीलाई ट्वीटर ह्यान्डलबाटै सुझाव दिनुभएछ नि? भनेर उनै उम्मेद्वार पौडेलसँग हामीले सोधेका थियौ। पौडेलले भने यसबारे कुनै जानकारी नभएको र ट्वीटरबाट प्रधानमन्त्रीलाई सुझाव नदिएको पहिलोपोस्टलाई बताए। 

भने, 'मलाई ट्वीटर चलाउन पनि आउँदैन। प्रधानमन्त्रीलाई सुझाव पनि दिएको छैन।'

हामीले उनको ह्यान्डलबाट आएका दुई ट्वीट पढेर सुनाएपछि उनले भने, 'कुरा त राम्रै रहेछ। कोही शुभचिन्तकले लेखिदिएको होला।'

चुनावी प्रचारका क्रममा सचिवालयले बनाएको हो कि? जिज्ञासामा पौडेलले यसबारे आफूलाई केही जानकारी नभएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell