कैलाली : धनगढी भएको लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको च्याम्पियन आयोजक लिटल फ्लावर स्कुल धनगढी बनेको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा कात्तिक १६ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेलमा मंगलवार काठमाडौंको हिमालयन ह्वाईट हाउस वर्ल्ड स्कुल आयोजकसँग ९ विकेटले पराजित भयो।
उपाधिसँगै आयोजक लिटल फ्लावरले नगद २ लाखसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको हिमालयनले १ लाख पुरस्कार पाएको छ।
लिटल फ्लावरको जितमा सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे। सुवाशले अविजित ६८ रनको पारी खेल्दा विपिनले ४७ रन बनाए। दुवै ओपनर ब्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको साझेदारी गरे।
टस जितेर पहिले व्याटिंग गर्दै हिमालयन ह्वाईट हाउसले दिएको एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी छँदै भेट्टायो।
हिमालय ह्वाईट हाउसले उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो। हिमालयनका लागि ओपनरद्वय दीपक बोहोराले ३४ रन र सुदीप बस्नेतले १८ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ६ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि हिमालयनका व्याट्म्यानले मध्यक्रम सम्झनलायक पारी खेल्न सकेनन्।
फाइनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन्। उनले नगद १५ हजार रुपैयाँ पाए। त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दीपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरकै अनुराग सिंह उदयमान खेलाडी बनेका छन्। उनीहरूले जनही नगद ५ हजार पाएका छन्।
प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको थियो।