PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बंगलादेशका राष्ट्रपति भक्तपुरमा, टौमढीमा 'हलिमलि' देख्दा मख्ख परे अब्दुल हमिद

बंगलादेशका राष्ट्रपति भक्तपुरमा, टौमढीमा 'हलिमलि' देख्दा मख्ख परे अब्दुल हमिद

प्रवीण रानाभाट/पहिलोपोस्ट


नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार दिउँसो भक्तपुर पुगे। त्रिभुवन विमानस्थलबाट मेरियट होटल पुगेका उनी होटलबाट सेनाको हेलिकप्टरमा भक्तपुर पुगेका थिए।

भक्तपुर दरबार स्क्वायरमा उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप प्रमुख रजनी जोशीले स्वागत गरेका थिए।

करिब एक घण्टा भक्तपुरमा बिताएका राष्ट्रपति हमिदले राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, पच्पन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेका थिए।

दरबार क्षेत्रमा उनलाई माक प्यांख देखाइएको थियो। यस्तै टौमढी स्कवायरमा उनको स्वागतमा भक्तपुर नगरपालिकाले विभिन्न सांस्कृतिक नाचहरु प्रदर्शन गरेको थियो। टौमडीमा देखाइएको देवी प्याखंमा भएको शेरसिंह बंगलादेशको एउटा सांस्कृतिक नाचसँग समानता भएको हमिदले बताएका थिए।

यस्तै सकिमना (सकिमिला) पुन्हीको अवसरमा टौमढीमा बनाइएको 'हलिमलि' समेत राष्ट्रपति हमिदले अवलोकन गरेका थिए।

नेवार समुदायले कात्तिक पूर्णिमाका दिन सकिमना पुन्ही मनाउने गर्दछन्। त्यस दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अन्न र रोटीहरु सजाएर हलिमलि बनाउने गरिन्छ। उपत्यका भर हलिमलि बनाइने भएपनि भक्तपुरमा विभिन्न आकृतिका हलिमलि बनाउने गरिन्छ। 

सकिमना पुन्हीकै दिन भक्तपुरको टौमडी पुगेका राष्ट्रपति हमिद भैरवनाथ मन्दिर अगाडी बनाइएको हलिमलि देखेर मख्ख परेको थिए। अन्नबाट बनाइएको यसीं र रथको आकृति बारे उनले चासो राखेका थिए।  राष्ट्रपति हमिदलाई उपप्रमुख जोशी लगायतले हलिमलिका बारेमा बताएका थिए। 

तस्विरमा राष्ट्रपति हमिदको भक्तपुर भ्रमण : 



ट्रेन्डिङ पोस्ट

Ncell