PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपाली विद्यार्थीको भिसा समस्या समाधानमा पहल गर्छु : राष्ट्रपति हमिद



पहिलोपोस्ट

नेपाली विद्यार्थीको भिसा समस्या समाधानमा पहल गर्छु : राष्ट्रपति हमिद

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गरेका छन्। चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो।

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताए। बंगलादेशको स्वतन्त्रता संग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै राष्ट्रपति हमिदले उक्त समर्थनको प्रशंसा गरे।

त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिबृद्धि गर्न भ्रमण आदन-प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बंगलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गरेका थिए। उनले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बंगलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राखे।

राष्ट्रपति हमिदले बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिसा समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बंगलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए। उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राखे।

उनले नेपाल राजनीतिक मुद्दा समाधानपछि विकास र समृद्धिमा केन्द्रीत रहेको जानकारी दिँदै बंगलादेशको सहयोगको अपेक्षा गरे।

'दुई देशबीच अहिले व्यापार घाटा रहेको छ। यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनुपर्छ,' उनले भने, 'जलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुवै देशलाई फाइदा पुग्छ।'

अध्यक्ष तिमिल्सिनाले नेपालले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलताका लागि बंगलादेशी जनतालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता गरे।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिबृद्धि गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदान-प्रदान हुनुपर्ने बताए। यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell