
काठमाडौं : बंगलादेशमा आजबाट शुरु भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ। नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको हो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ५६ रन बनाए।
कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोल्दै आउट भएसँगै सुरुमै दबावमा आएको नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले ५४ रनको साझेदारी गरे।
कुशल भुर्तेलले २८ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका मोहम्मद आरिफ शेख २ रनमै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले ३१ रनमा २४ रन बनाए। ऐरीले भेषवाकरसँग ५५ बलमा ४४ रनको साझेदारी गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए।
सरद भेषवाकर पनि ऐरी आउट भएसँगै २९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे। यो पछि नेपाली टिम फेरि दवाबमा आएको थियो। नेपाली टिमको स्कोर उकास्न फेरी पनि पवन सर्राफले उत्कृष्ट ब्याटिङ गरे। सर्राफसँग ३१ रनको साझेदारी पछि बिनोद आउट भए र सोमपाल क्रिजमा आए तर उनी पनि टिक्न भने सकेनन्। विनोदले ५ रन बनाउँदा सोमपालले २ रन बनाए। सर्राफले ४९ बलमा ५६ रन बनाए जसमा २ छक्का र ७ चौका प्रहार गरे।
त्यसबाहेक करण केसीले २० रन बनाए।
भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।