PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुर उपनिर्वाचन: नगरकोटको लाइफलाइन सडक बन्यो चुनावी मुद्दा, ठेकेदार शारदाप्रसादको फोटोमाथि राजनीति



सहयोग रञ्जित

भक्तपुर उपनिर्वाचन: नगरकोटको लाइफलाइन सडक बन्यो चुनावी मुद्दा, ठेकेदार शारदाप्रसादको फोटोमाथि राजनीति

नगरकोट: जबजब निर्वाचन आउँछ तबतब गाउँघरमा सडकको कुरा हुन्छ। वर्षौंदेखि नबनेका सडक बनाउने आश्वासन बाँड्दै उम्मेदवारहरु घरघर पुग्छन्। कोही मतदाता नेताहरुको नियतमाथि नै प्रश्न  गर्छन् त कोही यसले जिते बाटो बनाउँलान् भन्ने आशामा रहन्छन्। बाटो बनाएजस्तो गरी टालटुल काम हुन्छ। तर, यथार्थमा धेरैको आशा पूरा हुँदैन।

अहिले भक्तपुरमा पनि ठीक यस्तै भइरहेको छ। यहीबेला क्षेत्र नम्बर १ प्रदेश (क) मा निर्वाचनको माहोल छ। मंसिर १४ गते हुने निर्वाचनमा मत माग्न उम्मेदवारहरु घरदैलोमा नै व्यस्त छन्। उम्मेदवार जहाँजहाँ पुगिरहेका छन्। धेरैको प्रश्न हुने गरेको छ - सडक।

त्यसैले होला भक्तपुरको कमलविनायकबाट नगरकोट क्षेत्रमा सडकको दुरावस्थ अहिले राजनीतिक दलका लागि चुनावी मुद्दा बनेको छ।

सन् २०१४ जुन महिनामा सम्झौता भएर शुरु भएको यो सडकको काम २०१६ जुनमा सकाउने लक्ष्य थियो। तर तीनपटक म्याद थपिसक्दासमेत यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन।

कमलविनायक-नगरकोट सडकको मुद्दालाई बल दिने गरी मंगलवार नगरकोटमा रचनात्मक विरोध भयो। नेताहरु घरदैलो र चुनावी रणनीति बनाउँदै गर्दा नगरकोटका गाडी र सडकका पोलहरुमा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको तस्विर झुण्डाइयो। सैलुङ कन्स्ट्रक्सन कमलविनायकदेखि नगरकोटसम्मको बाटो बनाउने ठेक्का पाएको कम्पनी हो। तर,  तीन वर्षमा बन्नुपर्ने सडक ६ वर्ष बितिसक्दा पनि नबनेपछि स्थानीय सांकेतिक विरोधमा उत्रिएका हुन्।

निर्वाचनको संघारमा यसरी बाटोको विषयमा विरोधीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहज रुपमा लिने कुरा पनि भएन। त्यसमाथि पोस्टरमा देखाइएका अधिकारी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी परे। त्यसैले पनि स्थानीय माझ नेकपाप्रति असन्तुष्टि पहिला देखि नै थियो।

त्यसैले त अधिकारीसँगको फोटोसँगै बाँदर र कुकुरको तस्विर जोडेर 'घरबेटी नगरकोटको बाटो कालोपत्रे गर' सम्मको लेखियो। तर, मंगलवार राति नै धेरै स्थानमा टाँसिएका पोस्टर हटाइएको स्थानीय बताउँछन्।

स्थानीय उत्सव थापा भन्छन्,'बाटो नबनेको धेरै भयो। अहिले भोट माग्न आउँदा बाटो बनाउँछु, यो गर्छु, त्यो गर्छु भन्छन्। पछि गर्दैनन्। त्यसैले विरोध गरेर पोस्टर टाँसिएको हो। आफैले नराम्रो गर्‍या छन्। अनि के राख्थे र! राति नै सबै उक्काएछन्।'

नेकपाबाट यस प्रदेश क्षेत्रमा उम्मेदवार बनेका देवीप्रसाद (डिपी) ढकाल अबको तीन-चार महिनाभित्रै सडक बन्ने दाबी गर्छन्।

आफैले नै निवेदन दिएर सडकको काम सुरु गरेको बताउँदै उनले भने,'नेकपाले नै यो सडक बनाउने काम सुरु गराउने कोसिस गरेको हो। तर विविध कारणले त्यो रोकियो। यसको काम सुरु भइसकेको छ। तीन-चार महिनाभित्र यो सडकको काम सम्पन्न हुन्छ।'

जनता सडकमा ओर्लिएर गरेको विरोधबारे उनले भने,' पार्टीले प्रेसर गरेर आर्थिक रुपमा अल्झिएका प्रक्रिया सल्टाउने काम भयो। हामी पहल गर्दैछौं। सडकको काम सुरु भइसकेको छ। पोस्टर टाँस्ने तयारी संघर्ष समितिले पहिला नै गरेको रहेछ। काम सुरु भएको थाहा नपाएकोले पोस्टर टाँसेका हुन्।  विरोधका कार्यक्रम स्थगित भइसक्यो।'

उनले काम सुरु भइसकेको दाबी गर्दै गर्दा स्थानीय भने जनताको 'आँखामा छारो हाल्ने' रणनीति स्वरुप सडक बनाउन सुरु गरिएको देखाउन सडकमा पानी हाल्ने काम भएको बताउँछन्।

स्थानीय शारदा लामिछाने भन्छिन्, 'बाटो नबन्दा सबैलाई गाह्रो छ। पहिलापनि गिट्टी राखेर यसै छोडेर हिँडे। निर्वाचन आएकोले होला भोट माग्नलाई यहाँ दुई तीन वटा ट्यांकर ल्याएर पानी छर्ने काम भइरहेको छ।'

केही दिनअघि राममाया कार्कीको घर अगाडि चुनावी नारासहित उम्मेदवारहरु पुगे। आफ्नै घरमा किराना पसल सञ्चालन गर्छिन् कार्की। उनको पसलअगाडिको बाटो बिग्रेको वर्षौ भयो। त्यही बाटो देखाउँदै कार्की भन्छिन्,  ' सडक कहिले बन्छ भनेर सोधें। बन्छ बन्छ भन्छन्। पोर साल बनाउँछु भनेर काम सुरु गरेको थियो। टालटुल गर्‍यो। त्यसपछि धुलोमा नै बस्नु परेको छ।'

 

चाँगुनारायणको 'लाइफ लाइन'

चुनावी मैदान तात्दै गर्दा भक्तपुर प्रदेश (क) बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवार बनेका नीरज लवजू पनि घर दैलोमा नै व्यस्त छन्। उनी जहाँ जान्छ उनलाई जनताले सडकका बारेमा प्रश्न गरिरहेका छन्।

भन्छन्,'चाँगुनारायण नगरपालिकाको लाइफ लाइन हो यो बाटो। हामी अहिले जहाँजहाँ गइरहेका छौं, त्यहाँका जनताले सडक नबनेको बारेमा हामीसँग प्रश्न गरिरहेका छन्। हामीले उहाँहरुलाई सडक नबन्नु पछाडिको वास्तविकता बुझाउने प्रयास गरिरहेका छौं।'

केन्द्र सरकारले एकातिर विकास र समृद्धिको कुरा गर्ने तर चाँगुनारायणको विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने यो बाटो नबनेपछि जनता स्वभाविक रुपमा विरोधमा उत्रेन र यसपटको चुनावी मुद्दा बन्ने उनी बताउँछन्।

'सडक जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा हो। त्यसैले यो सडक चुनावी मुद्दाका रुपमा अगाडि बढ्छ,' उनले भने,  'ठेकेदारले तेलकोटतिर व्यक्तिगत रुपमा जग्गा किनिसकेको छ। जग्गा किन्ने तर बाटो झन झन् बिग्रिदै गएको छ। तीन वर्षमा बन्नु पर्ने सडक ६ वर्ष भइसक्यो। तर हालसम्म केही प्रगति भएको छैन। ६ वर्षसम्म बाटो नबनेपछि कानूनअनुसार ठेकेदारलाई कारवाही हुनुपर्ने हो। तर घरबेटी भएकै कारण उनलाई संरक्षण गरिएको छ। यो सडक त कमाइ खाने भाँडो बनेको छ।'

जनताले सडकका बारेमा प्रश्न सोध्नले अहिले आएर ने क पाले चुनावको मुखमा सडक बनाउने भन्दै  डोजर र पानी हाल्ने काम सुरु गरेको उनले बताए। यस प्रकारको नक्कली काम गरेर ने क पाले झुटको खेती गरेको भन्दै उनले यस्ता गलतकामको जानकारी जनतासमक्ष पुर्‍याउने बताए।

नेमकिपाको बाटोको अवस्थालाई लिएर पहिला देखि नै विरोध गर्दै आइरहेको थियो। कमल विनायकदेखि भक्तपुर सडकको विषय संसद सम्म पुगेको थियो।  ठेकेदारको लापरवाहीका कारण जनताले दु:ख भोग्नु परेको भन्दै विरोध भएपछि साउन १३ गते प्रतिनिधि सभाको विकास एवंम प्रविधि समितिले नगरकोट सडक खण्डको स्थलगत अवलोकन गरेको थियो।

संसदीय समिति निरीक्षणमा आउने भएपछि रातारात सडक ग्राभेल गरिएको स्थानीय बताउँछन्। समितिले निरीणको क्रममा ठेकेदारले सडक निर्माणमा ढिलाइ गर्नुका साथै लापरवाही गरेको ठहर गर्दै समयमा नै सडक निर्माण गर्न निर्देशन गरेको थियो।

तर, समितिको निर्देशनको तीन महिना बितिसक्दा पनि हालसम्म सडक निर्माण सुरु भएको छैन।

यता, कमल विनायक – नगरकोट सडक खण्ड पर्ने प्रतिनिधि सभा भक्तपुर १ का सांसद प्रेम सुवालले संसदमा शून्य समयमा यस सडकको अवस्था बारेमा अवगत गराउँदै आएका छन्। उनकै नेतृत्वमा तीन साउन २५ गते सडक नबनेको भन्दै भक्तपुरमा विरोध र्‍यालीसमेत निकालियो। र्‍यालीलाई सम्बोधन गर्दै उनले भनेका थिए,'नगरकोट सडकको ठेकेदार शासक दलकै अध्यक्ष दाहालको घरबेटी शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारी हुन्। यसै कारण सन् २०१६ मा सम्पन्न हुनुपर्ने काम हालसम्म पनि पूरा भएको छैन। आज भक्तपुरका जनता, पर्यटक व्यवसायी समस्यामा परेका छन्। जनता वर्षामा हिलो र अरू बेला धुलो खान बाध्य छन्। मुहान पोखरीको पानीमा त्यही हिलो मिसिँदा फोहोर पानी खान स्थानीय जनता बाध्य छन्।'

कांग्रेस उम्मेदवार भन्छन्,'जितेपछि पहिलो काम सडक बनाउने'

प्रदेशसभाका लागि प्रतिस्पर्धामा उत्रेका कांग्रेस उम्मेदवार कृष्णलाल भडेल भने जनताले सडकबारे आफूहरुलाई नसोधेको बताउँछन्। भन्छन्, 'हामीलाई जनताले यो बाटोबारे सोध्दैनन्। हामी सरकारमा छैनौं। हामी त बाटो छिटो बन्नुपर्‍यो भनेर माग गरिरहेका छौं।'

भडेल निर्वाचनमा जितिसकेपछिको मुख्य एजेण्डा नै नगरकोटको बाटो बनाउने रहेको बताउँछन्।

'मुख्य कुरा भनेको जितिसकेपछि फोकस नै नगरकोटको बाटोलाई दिने हो। पर्यटनको बाटो हो। २०२० पनि आइरहेको छ। त्यसैले पनि त्यसलाई फोकस गरिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell