PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शीर्ष नेतासँग प्रधानमन्त्री ओलीको बाक्लिँदो छलफल, नेपालसँग कुराकानीपछि दाहालसँग आज भेट



कुञ्जरमणि भट्टराई

शीर्ष नेतासँग प्रधानमन्त्री ओलीको बाक्लिँदो छलफल, नेपालसँग कुराकानीपछि दाहालसँग आज भेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तीव्र पारेका छन्। आज प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

मन्त्रिपरिदमा हेरफेरको चर्चा भइरहँदा प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुसँग छलफल बाक्लो बनाएका हुन्। मंगलबार‍मात्रै वरिष्ठ नेता माधवकुमार नेपालसँग 'आइस ब्रेक' वार्ता गरेका थिए प्रधानमन्त्री ओलीले।

गत भदौमा प्रधानमन्त्री ओली सिंगापुर उपचारका लागि जाँदै गर्दा स्वास्थ्य लाभको कामना गर्न पुगेका थिए - माधवकुमार नेपाल। सचिवालय बैठकमा औपचारिक हिसाबले नेपालले स्वास्थ्य लाभको कामना गर्दा यी दुई नेताबीच कटाक्ष चलेको थियो। त्यसयता वान अन वान वार्तामा दुवै नेता देखिएका थिएनन्।

बारम्बार असन्तुष्टि सार्वजनिक गरिरहेका नेता नेपाल र प्रधानमन्त्री ओलीबीचको भेटले मन्त्रिपरिषदमा हेरफेर र संवैधानिक निकायमा पदाधिकारी चयनको विषयमा भएको तयारी तीब्र रफ्तारमा अगाडि बढेको अपेक्षा गरिएको छ।

आज ओलीलाई भेट्न प्रचण्ड दिउँसो वालुवाटार पुगेका थिए। वान अन वान वार्तापछि दुई बजेमात्र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। माधव नेपालसँगजस्तो संवाद दुरी चाहिँ प्रधानमन्त्री ओलीको प्रचण्डसँग रहेको थिएन। पार्टी एकीकरणसँगै प्रधानमन्त्री पदमाथिको 'सेयरिङ'को विषयलाई लिएर यी दुई नेताबीच नोकझोक नभएको भने होइन। तर, त्यो धेरै बढ्नुअघि नै यी दुई शीर्ष नेताबीच संवाद भइहाल्यो। त्यो क्रम अहिले पनि जारी छ। ओली र प्रचण्डबीचका पछिल्ला भेटले दुई अध्यक्षबीचको दूरी घटेको देखिन्छ।

नेकपा वृत्तमा शीर्ष तहमा भएको भेटलाई चर्चामा रहेको मन्त्रिपरिषदका सदस्य हेरफेरसँग जोडेर उत्सुकतासाथ हेरिरहेका छन् - पार्टीका नेता तथा कार्यकर्ता।

पार्टीभित्र असन्तुष्ट रहेका नेता नेपालसँगको संवादका लागि नेता तथा कार्यकर्ताकै तहबाट दवाव पनि सिर्जना भएको थियो। ओली र नेपालबीचको भेटको प्रमुख आधार त्यसैले तय गरेको हो। यी दुई नेताबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा चार घण्टा लामो छलफल हुनु 'स्वास्थ्य लाभको कामनामा भएको घोचपेच'मा मन माझामाझ मात्र हुन सक्दैन।

प्रधानमन्त्री ओली मन्त्रिमण्डल हेरफेरको तयारीमा रहेको नेकपाका प्रस्तावित उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले सार्वजनिक टिप्पणी नै गरिसकेका छन्। प्रधानमन्त्रीबाहेक सबै मन्त्रीले राजीनामा दिने उनले बताएका छन्। साथै उनले अहिले भएका मन्त्री हट्ने र नयाँ मन्त्री आउने बताएका थिए।

त्यस्तै ओलीले संवैधानिक आयोगका पदाधिकारी सिफारिसका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

किड्नीको डायलासिस पछि प्रधानमन्त्रीको सक्रियता जसरी बढेको छ पछिल्लो समय शीर्ष तहका नेतासँग बाक्लिएको वार्ताले राजनीतिमा नयाँ तरङ्ग ल्याउने संकेत गरिसकेको छ। दुई वर्षे कार्यकालमा उपलब्धीमूलक काम गर्न असफल गरेको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको अहिलेको सक्रियताले केही उपलब्धी हासिल गर्न सक्ला त? यसलाई अहिले समयकै गर्भमा रहन दिन सान्दर्भिक हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell